सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले खोसेको खुशी

मुक्त हलिया केशवको पीडा, ‘त्यो खुशी पनि दैवले खोस्यो’

डडेलधुरा । यसै साता भएको अविरल वर्षाका कारण खसेको पहिराले अजयमेरु–१ मुद्राडका मुक्त हलिया केशव पार्कीका परिवारकै उठिबास भएको छ । तीन दशकभन्दा बढी समय अरुको हलेटी (हलिया) लगाई परिवारको गुजारा चलाउँदै आएका उनी पछिल्लो एक दशकदेखि (क) वर्गको मुक्त हलियाको परिचयपत्र लिएर पुर्ख्यौली पेसामै अश्रित रहँदै आएका थिए ।

अहिले केशवको परिवारको उठिबास भएको छ । उनीहरु अजयमेरु–१ मुद्राडमा आफन्तको घरमा आश्रित भएर गाउँलेको सहयोगमा छाक टारिरहेको स्थानीय अनिता भण्डारीले जानकारी दिइन् । उनका अनुसार गाउँलेका कारण केशवको परिवारले मुखमा माडसम्म लगाउन पाएको थियो । अहिले केशवका दुई नाति, छोराबुहारी र बूढाबूढी गरी ६ जनाकै परिवारको उठिबास भएको छ ।

केशवकी श्रीमती पशुपतिले आँसु झारेर भक्कानिँदै भनिन्, ‘दसैँमा जोगाएर राखेको भत्ता पनि पहिरोमा गयो । यसरी परिवारको बिचल्ली नै हुने गरि दुःख खेप्नुभन्दा त्यही पहिरोमा आफू पनि गएको भए हुन्थ्यो । बुढेसकालमा सरकारले बनाई दिएको घरमा पनि बस्न पाइएन, उमेर हुँदा अरुकै घरमा हलिया भएर बसियो । केही समय भारतमा पनि बिताइयो, पछिल्लो समयमा सानो घर बनाएर छाक टारिरहेका थियौँ, त्यो खुशी पनि दैवले खोस्यो ।’

जिल्लाभर पहिरोका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन् । मुद्राड खोली बस्ने केशव हलियामुक्त भएको धेरै समय भएको छैन । पहिरोमा परेको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएको थियो तर उक्त घर नै पहिराले लगेपछि पछि केशवको कुनै सम्पत्ति बाँकी छैन । अरुले दिएको पिठो र चामलका भरमा छाक टार्नुपरेको छ भने बच्चाका लागि दूध कहाँबाट ल्याउने, केले ल्याउने केशव पिरोलोमा छन् ।

‘सानो नाति घर खोज्दै कराइरहेको छ, दुहुनो गाई पहिरोले नै खायो, गोजीमा सुको पैसा छैन भएको सम्पत्ति घरसँगै बग्यो,’ उनले आफ्नो पीडा सुनाउँदै भने, ‘उमेर छञ्जेल अर्काको हलो जोतियो, बुढेसकालमा सरकारले निर्माण गरिदिएको घर पनि पहिराले खायो, बाँस र निगालोको कामबाट अलिअलि पैसा जोगाएको थिए, त्यो पनि घरसँगै गयो ।’ हालैको वर्षाले उनका परिवार पनि बिचल्लीमा परेको थियो ।

वडा कार्यालयले दिन सक्ने सहयोग दिइरहेका छौँ थप सहयोगका लागि सम्बन्धित निकायलाई आग्रह गर्नाका साथै उनीहरूका लागि खाद्यन्न लत्ताकपडासहित घर निर्माणका लागिसमेत पहल गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष दत्तिसिंह भण्डारीले बताए । सोमबार राति वर्षासँगै घरमाथिबाट गएको पहिरोले उनका परिवारको ज्यानमात्रै बच्यो तर अन्य सबै धनमाल पुरिदिएको थियो ।

हलियामुक्त भइसकेपछि नेपाल सरकारले पुनःस्थापना कार्यक्रममार्फत निर्माण गरिदिएको घरमा रु पाँच लाख ५० हजार खर्च भएको थियो । त्यो पनि पहिरोले लग्यो । घर बनाएको ठाउँमा कुनै निसाना छैन, गोठमा भएको गाई गोरु खोलामा अझै मृतावस्थामा छन् । उनको घरभित्र रहेका पुशचौपाय र कुखुराका साथै खाद्यान्न र नगदसमेत पहिराले लगेको मुचुल्काका लागि उक्त स्थानमा पुगेका प्रहरीले बताए ।

घर भएको स्थानको कुनै नाम निसान छैन, गोठमा रहेका गाईगोरु नजिकैको खोलामा मृतावस्थामा छन् भएका सम्पत्तिको कुनै अत्तोपत्तो नभएको घटनास्थल पुगेका प्रहरी नायब निरीक्षक शेरबहादुर बुढाऐरले बताए । केशवको दुईतले तीन कोठाको घर, अन्नबाली र नगदसहित गरी करिब रु १४ लाख बराबरको धनमाल नोक्सान भएको प्रहरी नायब निरीक्षक बुढाऐरले जानकारी दिए ।

पहिराले घरमात्रै लगेन, दसैंको मुखमा श्रीमती पशुपतिले बुझेको ज्येष्ठ नागरिक भत्तासमेत पहिरोमा गुमनाम भएको पीडित केशवले गुनासो थियो । सहयोगका लागि र नाति हुर्काउनका लागिसमेत अहिले उनका परिवारले अनुरोध गरिरहेको छ । आफूले दैवबाट पाएको पीडा अरु कसैलाई नपरोस् भन्दै पीडितले सरकार लगायत अन्य सङ्घसंस्थाबाट सहयोगको अपेक्षा गरिरहेका छन् ।

डडेल्धुरामा केशवझै अन्यको पनि उत्तै पीडा छ । अमरगढी–१ को बण्ड, गन्यापधुराको भेटा गाउँनै पहिरोको जोखिममा परेको छ, करिब ४० घर विस्थापित हुनसक्ने खतरा छ । पहिरोमा परी दुई जनाको मृत्यु नै भएको र अन्य दर्जन बढी घाइते भएका छन् । अजयमेरु–१ मा मात्रै दुई घर केशव र राज भण्डारीको भत्किएका थिए । ग्रामीण सडक अवरुद्ध छन् । जिल्लाभरको क्षतिको यकिन विवरण आउन सकेको छैन ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढी पहिरोबाट हुन गएको धनजनको क्षतिका साथै खाद्यान्न क्षतिको पनि विवरण सार्वजनिक गरिने बताउँदै भने, ‘जिल्लाभर प्रहरी परिचालन गरिएको छ चाँडै इातिको विवरण सार्वजनीक गर्छौ ।’ बिहीबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूर पश्चिमसहित डडेल्धुराका बाढी पहिरोको अनुगमन गर्दै पीडितलाई चाँडै राहतको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

पीडित भने राहतमा ढिलाइ हुँदा झन पीडित भएका छन्, अरुको भरमा बाँच्नुपर्दा झनै समस्या भइरहेकाले चाँडो व्यवस्थापन गरिदिनुपर्ने मुक्त हलिया केशवको भनाइ थियो । बस्ने घर छैन, खानका लागि गाँस छैन, लगाउने लुगा र ओड्ने ओछ्याउने समेत पहिराले खायो भन्दै उनी एकोहोरो भौतारिरहेका छन् । यसरी पीडित बनेका मानिसलाई प्रधानमन्त्री देउवाले भनेजस्तै चाँडै प्रबन्ध मिलाइदिनुपर्ने स्थानीयवासीको आग्रह थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार १४:५८