मुगु । दशैंको अवसर पारेर मुगुको रारा तालमा आन्तरिक पर्यटक मनोरञ्जनका लागि घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षाका कारण त्यहाँ पुगेका पर्यटक अलपत्र परेका छन् । स्थल मार्ग ठाउँठाउँमा भत्केको र मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् ।
कर्णालीका विभिन्न जिल्लामा उडान भर्दै आएका चार वटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ उडान गरेकाले अहिले त्यहाँको उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्णरूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।
नेपालगन्जकी सृजन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रिए । उनका साथीहरू जहाजमार्फत नेपालगन्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिक्षामा छन् । ‘जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौँ, पैसा पनि सकियो,’ उनले भने ।
खत्रीका अनुसार एक सातादेखि विमान नपाएर धेरै जना ताल्चा विमानस्थलमै बसेका छन् । खत्रीले भने, ‘उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहार्यौँ, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।’ जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान छ । मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन ।
उनले भने, ‘एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतिक्षामा छौँ । आजसम्म उद्धार नभएअझैँ कति दिन भोकभोकै बस्नुपर्ने हो थाहा छैन ।’ निरन्तरको वर्षाका कारण मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै पनि उडान भएन । बिहीबार जम्मा दुईवटा मात्रै उडान भए ।
राजधानी काठमाडौं र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उनले बताए । विमानस्थलमा यात्रुको चाप थेगिनसक्नुको छ । सयभन्दा बढी यात्रु विमानस्थलमा विमानको पर्खाइमा छन् । हवाई मार्ग भएर राराताल आउने अधिकांश पर्यटक एक रात बिताएर फर्किने गरी प्याकेज बनाएका हुन्छन् ।
एक सातादेखि उडान भर्न नपाउँदा समस्या भएको विमानस्थल प्रमुख विशाल बरुणले बताए । मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढीपहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका हुन् ।
सीताको जहाजमा खराबी आएर नेपालगन्जमा थन्क्याइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमै छ । ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको विमानस्थल कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुको उद्धारका लागि सरोकार निकाय र विमान सञ्चालक कम्पनीलाई पत्राचार गरिएको बताए ।
उनले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरुलाई नियमित र थप उडान गर्नका लागि जानकारी गराउनाका साथै पत्राचार पनि गरिएको बताए । दशैं बिदा मनाउनका लागि राराताल आएका पर्यटकको चाप अत्यधिक हुँदा यात्रुले धेरै दिनको पालो पर्खेरमात्र यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था आएको प्रजिअ महतले जानकारी दिए ।
उनले भने, ‘हाल यस क्षेत्रमा उडान भर्ने एयरलाइन्सका जहाजले देशको पूर्वतर्फ उडान भर्न गएकाले कर्णालीमा रहेका यात्रुलाई समस्या पर्न गएको हो । अरु बेला कर्णालीमा उडान भर्ने विमान सेवा कम्पनीले चाडपर्व र पर्यटक आउने बेला अन्यत्र विमान पठाउनु गलत हो ।’ बाढी–पहिराका कारण कर्णाली राजमार्गको सुर्खेत–नाग्म सडक र नाग्म–गमगढी सडकका १४ ठाउँमा ठूलो पहिरो खसेपछि सवारी साधनलाई सास्ती भएको यहाँका स्थानीयहरु बताउँछन् ।
।