सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु

बाँके । डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकसंग गाउँपालिका अध्यक्ष विशेष कार्यक्रम शुरु गरेको छ ।

गाउँपालिका अन्र्तगत रहेका जेष्ठ नागरिकहरुको घरमा पुगेर स्वास्थ्य उपचार तथा स्याहारका लागि यो कार्यक्रम शुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आज शुक्रबार वडा नम्बर–२ को होलियास्थित खडैचा गाउँका जेष्ठ नागरिकलाई सेवा कार्ड वितरण गर्दै शुभारम्भ गरे ।

शुभारम्भ गर्दै अध्यक्ष चौधरीले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य उपचार तथा स्याहारसहितको सेवा उपलब्ध गराउने बताए ।

उनले गाउँपालिका अन्र्तगत रहेका सम्पुर्ण जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परिक्षण, औषधी वितरण, ल्याब टेस्ट, एम्बुलेन्स सेवा, तथा विशेषज्ञसहितको स्वास्थ्य सेवा निशुल्क रुपमा उपलब्ध गराउने बताए ।

गाउँपालिकाले दलित, अशक्त तथा एकल महिलाको हकमा ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुगेका नागरिकहरुलाई यो सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए ।

उनका अनुसार गाउँपालिकाको वार्ड १ देखि ६ सम्म ७० वर्ष पुगेका एक हजार दुई सय ७२ जना छन् भने ६० वर्षलाई समेट्दा दुई हजार एक सय ३५ जना छन् ।

हाम्रो सामाजमा जेष्ठ नागरिकलाई घरपरिवारबाट सम्मान नगर्ने, शारिरीक अस्वस्थता र उनीहरुको मानसिक समस्याको अन्त्य गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो ।

सबै जेष्ठ नागरिकका घर घरमा पुगेर स्वास्थ्य परीक्षणसंगै स्वास्थ्य सेवा कार्ड वितरण गर्न शुरु गरिएको हो । गतवर्षबाटै शुरु भएको यो कार्यक्रम कोभिड–१९ का कारण प्रभावित भएको थियो भने यस वर्षदेखि प्रभावकारी रुपमा अघि बढाइनेछ ।

सो कार्यक्रमका लागि गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको बेतहनी स्वास्थ्य चौकीमा ५ बेडको सुविधा सम्पन्न जेष्ठ नागरिक उपचार तथा स्याहार केन्द्र पनि स्थापना गरिएको छ ।

गाउँपालिकामा ८ वटा स्वास्थ्य एकाइ रहेको छ भने तीन स्थानमा निशुल्क प्रयोगशालामार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले विगतका वर्षदेखि नै घर घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेपनि अहिले स्वास्थ्य क्षेत्रमा राम्रो सुधार भएको छ । स्वास्थ्य कार्यालय बाँकेले गरेको मुल्याकनका आधारमा अहिले डुडुवा बाँके जिल्लामै स्वास्थ्य क्षेत्रमा पहिलो भई उत्कृष्ट भएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०९:३०