काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले पराजित भएको छ ।
एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।
ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।
एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ । नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् । त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु पाँच खेलाडी पनि टिममा छन् ।
टिममा राष्ट्रिय टिमको अनुभव भइसकेका करिब आधा खेलाडी रहेकोले पनि यस पटक छनोटमा नेपालले राम्रो गर्ने आशा प्रशिक्षकले राखेका छन् ।
छनोटमा कुल ११ समूह छ । त्यसमा हरेक समूहको शीर्ष टोली एएफसी यू-२३ एसियन कपमा छनोट हुनेछन् । यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् ।
आयोजक उज्वेकिस्तान भने यसअघि नै छनोट भइसकेको छ ।
।