सूचनाको शक्ति - The Power Of Information

        

प्याजले महँगियो भान्सा, प्रतिकेजी ८२ रुपैयाँमा बिक्री

काठमाडौं । काठमाडौँ उपत्यकामा दशैँदेखि सुकेको प्याजको भाउ बढेको छ । दशैँअघि थोकमा प्रतिकेजी ४५ रुपैयाँमा किनबेच भएको प्याजको भाउ दशैँदेखि बढेर अहिले प्रतिकेजी ८२ रुपैयाँ पुगेको छ । अन्य बेलाको तुलनामा दशैँमा प्याज माग ह्वात्तै बढ्ने हुँदा भाउ बढेको हो ।

अघिल्ला वर्षहरूका दशैँमा पनि प्याजको मूल्य बढ्ने गरेको थियो तर यो वर्षजस्तो धेरै महँगो नभएको उपभोक्ता बताउँछन् । असोज २० सम्म प्रतिकेजी ४५ रुपैयाँमा किनबेच भएकामा घटस्थापनामा प्रतिकेजी ६० रुपैयाँ हुँदै फूलपातीसम्म ८२ रुपैयाँ पुगेको छ । दशैँ सुरु भएयता प्याजको भाउ थोकमै प्रतिकेजीमा ३७ रुपियाँमा महँगो भएको हो ।

व्यापारीहरू भने प्याज दशैँका कारण भन्दा पनि भारतमै महँगो भएकाले यसको असर नेपाली बजारमा परेको बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले कालीमाटी तरकारी बजारमा प्याजको भाउ थोकमै ८० देखि ८२ रुपैयाँमा कारोबार भएको छ ।

समितिका अनुसार भारतीय बजारमा प्याजको मूल्य बढ्न थालेकाले यसको असर कालीमाटी बजारमा परेको छ । प्याजको अफ सिजन सुरु भएसँगै चाडपर्वले भारतीय बजारमा प्याज महँगो भएको समितिका प्रवक्ता विनय श्रेष्ठले बताए ।

कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले प्याजको मूल्य भारतीय बजारसँग निर्भर रहेकाले उता मूल्य बढेपछि हाम्रो बजारमा बढ्नु स्वाभाविक भएको बताए । नेपालमा दैनिक ८० देखि १०० मेट्रिक टनसम्म प्याज खपत हुने गरेको र यो बेलामा प्याजको सबै माग भारतले धान्ने गरेको छ ।

हरेक वर्ष चाडपर्वको समयमा प्याजको मूल्य बढ्ने गरेको र अहिले माग बढी भएर मूल्य बढेको नभई भारतमै भाउ बढेकाले हाम्रोमा पनि बढेको थोक व्यापारी आचार्यको भनाइ छ । व्यापारीका अनुसार भारतमा प्याजको मूल्य एक सातामा प्रतिकेजी २० रूपैयाँसम्म बढेको पाइएको छ ।

यसले गर्दा स्थानीय बजारमा पनि प्याजको मूल्य लगातार बढिरहेको हो । भारतीय बजारमा नै प्याजको माग धेरै हुने गरेको छ । उत्पादन कम र माग धेरै भएकाले केही वर्षदेखि प्याजको मूल्यमा उतारचढाव भइरहेको छ । उताबाट मूल्य घटेर आए मात्र स्थानीय बजारमा प्याजको मूल्य घट्ने हो ।

नयाँ सिजन सुरु भएपछि मात्र प्याजको मूल्य घट्ने सूचना अधिकारी श्रेष्ठले बताए । गत वर्ष फागुनमा प्याजको मूल्य प्रतिकेजी ८५ रुपैयाँ पुगेको थियो । नयाँ सिजन सुरु भएपछि घटेर प्रतिकेजी ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०७:४४