सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

निजी अस्पतालमै सिकलसेल र थालसेमियाका बिरामीको निःशुल्क उपचार

बाँके । बालबालिकामा देखिएको सिकलसेल तथा थालसेमियाजस्ता वंशाणुगत रोगको उपचार नेपालगन्जमा निजी क्षेत्रबाट सञ्चालित एक अस्पतालले निःशुल्क रूपमा गर्दै आएको छ ।

बाँके, बर्दिया लगायतका जिल्लाबाट आउने सिकलसेल र थालसेमिया रोगबाट पीडित बालबालिकाको निःशुल्क उपचार यहाँस्थित कान्ति आरोग्य अस्पतालले गर्दै आएको वरिष्ठ बालरोग विशेषज्ञ तथा सो अस्पतालका सञ्चालक डा.रोमा बोराले बताए ।

सो अस्पतालले सिकलसेल र थालसेमियाका बिरामी बालबालिकाका लागि शैय्या र जाँच निःशुल्क गरेको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीका कुरुवाले आफैँ खाना पकाएर खानका लागि भान्छाको व्यवस्थासमेत अस्पतालले गरिदिएको छ ।

हाल १५ शैय्या क्षमताको सो अस्पतालले बालरोग विशेषज्ञ सेवा, स्त्री र फिजिसियन सेवा दिइरहेको छ । एनआइसीयू, पीआइसीयूदेखि यो अस्पतालले अक्सिजन र भेन्टिलेटरजडित अत्याधुनिक सुविधा भएको एम्बुलेन्स पनि सञ्चालन गरेको छ ।

नवजात शिशु तथा बालरोग विशेषज्ञ डा.बोराले पछिल्लो समय बालबालिकामा रगतको कमी हुने सिकलसेल तथा थालसेमियाजस्तो रक्तअल्पताको समस्या लिएर उपचारका लागि महिनामा १० जनाको हाराहारीमा आफूकहाँ आउने गरेको जानकारी दिइन् ।

उनले खासगरी थालसेमिया भएका बिरामीका लागि महिनैपिच्छे रगत चढाउनुपर्ने हुँदा अत्यन्त न्यून आयस्रोत भएका अभिभावक आफ्ना ससाना बालबालिका बोकेर उपचारका लागि आउने गरेको र उनीहरूको अवस्था हेरेर अस्पतालले बेड चार्ज तथा जाँच शुल्क निःशुल्क गर्नुका साथै अन्य शुल्कमा पनि सहुलियत दिने गरेको बताइन् ।

सिकलसेल खासगरी थारू समुदायका बालबालिकामा र थालसेमिया अन्य समुदायका बालबालिकामा देखा परेको छ । रोग पुष्टि भएका बालबालिकाको कान्ति आरोग्य अस्पतालले निःशुल्क तथा सहुलियत दरमा विभिन्न उपचार सेवा दिँदै आएको डा.बोराको भनाइ छ ।

बर्दिया राजापुरका महेश थारूले बच्चालाई सिकलसेल देखा परेपछि उपचारका लागि नियमितरूपमा कान्ति आरोग्य अस्पताल आउने गरेको बताए । शरीर दुख्ने, हातखुट्टा लुलो हुनेजस्ता समस्या भएपछि उपचारका लागि नेपालगन्ज आउँदा सिकलसेल पुष्टि भएपछि निरन्तर डा.बोराको निगरानीमा उपचार गराउँदै आएको उनले जनाइन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार ०७:३४