सूचनाको शक्ति - The Power Of Information

        

बेमौसमी बर्षातका कारण बाँकेमा ६० प्रतिशत धानबालीमा क्षति

बाँके । बेमौसमी बर्षातका कारण बाँकेमा ६० प्रतिशत धानबालीमा क्षति पुगेको छ ।

बर्षातले काटेर खेतमा रहेको ६० प्रतिशत धानमा क्षति पुर्याएको कृषि ज्ञान केन्द्र प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले जानकारी दिए ।

उनले काटेर खेतमा रहेको ६० प्रतिशत र हावाहुरीले नकाटेको २० प्रतिशत धानमा क्षति पुर्याएको बताए । पानीसँगै आएको हावाहुरीले १० हजार हेक्टरमा लगाएको धान ढलेपछि खेतमा कुहिन थालेको उनको भनाई छ ।

उनले काटेर खेतमा रहेको सात हजार पाँच सय हेक्टर जमिनको धानमा क्षति पुर्याएको बताए । बाँकेमा ३६ हजार पाँच सय हेक्टर जमिनमा धान खेती भएको छ ।

गत बर्ष बाँकेमा प्रति हेक्टर ४ दशमलव ३ मेट्रिक टनका दरले करिव एक लाख ५३ हजार ८० मेट्रिक टन धान उत्पादन भएको थियो । यो बर्ष प्रति हेक्टर ४ दशमलव ४ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो ।

तर, बेमौसमी बर्षातले गत बर्षको भन्दा झण्डै ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको ढकालले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार १७:१४