सूचनाको शक्ति - The Power Of Information

        

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट आज

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ आज शुक्रवार बिहान बाँडफाँट हुने भएको छ। विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बिहान ९ बजे आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको जानकारी दिएको हो।

यस कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ। यी आवेदकहरुबाट २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको थियो, जुन मागभन्दा १४ गुणा बढी हो।

कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो। कम्पनीले असोज १५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ।

कम्पनीको आईपीओमा पछिल्लो तथ्यांक अनुसार २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ।

यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ।

त्यस अनुसार २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता सेयर पाउनेछन् । बाँकी २१ लाख ४८ हजार आवेदकले सेयर नपाउने देखिन्छ।

कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। यस आयोजनको निर्माण लागत अनुमानित ६ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीमा संस्थापक सेयरधनी समूहबाट चुक्ता भएको ७३ प्रतिशत स्वामित्व रू. १ अर्ब ९ करोड ५० लाख रहेको छ। कम्पनीले संस्थापक सेयर धनी तथा कर्मचारी र स्थानीय सहित सर्वसाधारणमा २७ प्रतिशत शेयर विक्री गर्नेछ।

सर्वसाधारणमा समेत सेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड पुग्नेछ। आर्थिक वर्ष ०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९१ दशमलव ९९ रहेको छ।

यस अवधिसम्म कम्पनी रू. ८ करोड ७७ लाख ६४ हजार नोक्सानीमा रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ०९:१९