सूचनाको शक्ति - The Power Of Information

        

गृह मन्त्रालय

बेमौसमको वर्षाः अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ४ पुग्यो

४१ घाइते, ४३ बेपत्ता

काठमाडौं । बेमौसमी वर्षापछिको बाढीपहिरोमा परी देशभर मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ गृह मन्त्रालयको तथ्यांकअनुसार ४१ जना घाइते छन् भने ४३ जना हराईरहेका छन् ।

बाढी पहिरोले सबैभन्दा बढी मानवीय क्षति प्रदेश १ मा भएको छ । पाँचथरमा २८, इलाममा १४, धनकुटामा ७, सुनसरीमा ८, उदयपुरमा २ र मोरङ, सोलुखुम्बु र भोजपुरमा १/१ जना गरी प्रदेशभर ६१ जनाको मृत्यु भएको छ ।

२० जना घाइते र १३ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेशमा ३१ जनाको मृत्यु, १७ जना घाइते र २३ जना हराइरहेका छन् ।

डोटीमा मात्रै १६ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । बझाङमा हालसम्म ८ जनाको शव भेटिएको छ ।
२१ जनाको अवस्था अज्ञात छ । यसैगरी, कर्णालीमा ७, लुम्बिनीमा ३, वाग्मतीमा १ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

बाढीका कारण देशभर २ हजार २ सय ३२ घर डुबानमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । कार्यालयका अनुसार ४९ घर, ८ गोठ, ६ पुल र ३ सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ सय ३९ पशुचौपाया मरेका छन् । विपद्का घटनाबाट १ हजार १ सय ७७ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार ०८:५३