सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला सडक सञ्जाल विच्छेद

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । अविरल वर्षापछि सडकमा खसेको पहिरोका कारण ४ दिनदेखि सवारीसाधन आवतजावत रोकिएको हो ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा–डोटी सडकखण्ड गैरामा ठाउँठाउँमा पहिरो खसेका कारण पहाडी जिल्लासँग सडक सञ्जाल विच्छेद भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीका एसपी वामदेव गौतमले जानकारी दिए । पहिरो हटाएर यातायात खुलाउने प्रयास भइरहेको उनले बताए ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुखर्कदेखि हगुल्टे लेकसम्म करिब ४/५ किलोमिटर बाटो पहिरोले बन्द भएको छ । यस्तै अमरगढी नगरपालिका– ११ रडुवाखोला र गजरौलाको बीच भागमा १०० मिटरजति रोड भासिएको र डोजरले काम गर्न नसकी फिर्ता भएको प्रहरीले जनाएको छ ।

सडक बन्द हुँदा पहाडी जाने र तराई आउने सयौं सवारीसाधन जाममा परेका छन् । पहाडको यात्रामा रहेका सयौं नागरिक चार दिनदेखि बाटोमै अलपत्र परेका छन् । बस्न/खानसमेत समस्या भइरहेको यात्रुले गुनासो गरेका छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार १२:३७