सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरो र डुबानबाट ८८ को मृत्यु, ३० बेपत्ता

काठमाडौं । बेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कुल ३० जना बेपत्ता भएका छन् ।

अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो । विपदमा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३–१३ जनाको मृत्यु भएको छ ।

यस्तै, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुर लगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए । विपद्बाट २० जिल्ला प्रभावित भएको छ । बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ०९:४४