सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन

हिल्सा र लिमी ट्रेकिङमा गएका २२ पर्यटक चार दिनदेखि अलपत्र

फाइल तस्वीर

हुम्ला । हिल्सा र लिमीको ट्रेकिङका लागि गएका चार जना स्लोभानियाका पर्यटकसहितको टोली तुम्लिङ रोकिएको छ । टोली ट्रेकिङ सकेर सिमकोट फिर्ता हुने तयारीमा तुम्लिङमा रहेकै बेला हिमपात सुरु भएपछि न्यालु लेकको बाटो बन्द हुँदा रोकिनुपरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रको तुम्लिङमा चार जना स्लोभानियाका नागरिकसहित १२ जना रोकिएको बताए । असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको ट्रेकिङमा गएको उक्त टोली चार दिनयता न्यालु लेकमा बाक्लो हिमपात हुँदा उतै रोकिएको हो ।

रिचा टुरका हुम्ला प्रतिनिधि पेमा लामाका अनुसार टोलीमा चार जना स्लोभानियाका नागरिक, तीन जना टुरका गाइड, पाँच जना हुम्लाका स्थानीय र आठवटा खच्चड तुम्लिङमा रोकिएका छन् । ट्रेकिङ गर्दै न्यालु लेकबाट पैदल मार्ग हुँदै पर्यटकको टोली सिमकोट आउने कार्यक्रम थियो ।

न्यालुमा तीन फिटभन्दा बढी हिमपात हुँदा बाटो बन्द भएपछि टोली आउन नसकेको हो । तुम्लिङमा तीन चारवटा होटेल र चौकीका खर्कहरू छन् । टोली उतै बसिरहेको उनले बताए । यसैबीच, सोलुखुम्बुको मेरापिक चढेर फर्किने क्रममा मौसम प्रतिकूल बनेपछि विदेशी पर्यटकसहित १० जना फसेका छन् ।

मङ्गलबार मेरापिक आरोहण गरी फर्किने क्रममा मौसमका कारण मेराला ओडार (५७००) मिटरमा चार जना, हाई क्याम्प (५८००) मिटर मा चार जना र बेस क्याम्पमा (५३००) मिटरमा दुई जना आरोही फसेका हुन् । त्यसमध्ये मेरालामा फसेका चारमध्ये एक ब्रिटिस नागरिक स्टु सियनसहित सोलुखुम्बुका आरोही गाइड पासाङछिरिङ, छेतेन र पासाङ शेर्पा रहेका छन् ।

त्यस्तै हाई क्याम्पमा एक विदेशी पर्यटक, पूर्ण थापा मगरसहित नाम नखुलेका दुई जना र बेस क्याम्पमा नाम नखुलेका थप दुई जना अलपत्र परेका हुन् । उनीहरू निरन्तरको झरी र हिमपातका कारण मेरापिक क्षेत्रमा फसेका हुन् । उनीहरू सकुशल भएको तर यथाशीघ्र उद्धारको आवश्यकता रहेको एडभेञ्चर भिक्टोरीका सञ्चालक लक्षणमिसन कार्कीले बताए ।

मौसम प्रतिकूलका बीच उनीहरूको उद्धारका लागि खारे क्षेत्रबाट आरोही गाइडको टिम दुई पटक पठाए पनि हिउँ छिचोल्न नसकेर फर्किएका छन् । सञ्चालक कार्कीका अनुसार हाइ क्याम्प र बेस क्याम्पमा रहेकासँग सञ्चित खानेकुरा रहेको तर मेराला ओडारमा फसेकासँग कुनै पनि खानेकुरा छैन ।

उनीहरू मङ्गलबार दिउँसो ३ बजेदेखि सो क्षेत्रमा फसेका हुन् । मौसम प्रतिकूल रहेकाले हेलिकप्टरमार्फत तत्काल उद्धार गर्न नसकिरहेको खारे क्षेत्रका एक होटल व्यवसायीले बताए । मौसम अनुकूल हुनासाथ उद्धार गरिने सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ०९:३५