सूचनाको शक्ति - The Power Of Information

        

समाचार

१५ वटा सडक दुर्घटनामा आठ जनाको मृत्यु

बाँके । कोरोना महामारीका बेला यातायात नचल्दा घटेको सडक दुर्घटना अहिले फेरि बढ्न थालेको छ ।

जिल्ला ट्राफिक कार्यालय बाँकेका अनुसार जिल्लामा गत एक महिनामा भएका १५ वटा सडक दुर्घटनामा परेर आठ जनाले ज्यान गुमाएका छन् भने चार जना गम्भीर घाइते भएका छन् ।

सबैभन्दा बढी सवारी दुर्घटना पूर्वपश्चिम राजमार्गको कोहलपुर– शिवखोला सडक खण्डमा भएको कार्यालयले जनाएको छ । सो सडक खण्डमा भएका दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै नेपालगन्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा दुई, राँझा नजिकै एक जना, नेपालगन्ज सुर्खेत रोडमा एक जनाले र राँझाको गाउँभित्र एक जनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले एक महिनाको अवधिमा ट्राफिक नियमविपरीत सडकमा गुडेका दुई हजार ८५० सवारी साधनलाई कारबाही गरी १५ लाख ८० हजार रुपैयाँ राजस्वसमेत सङ्कलन गरिएको बताए ।

असोज महिनामा मापसे कारबाहीमा पाँच जना परेको जानकारी दिँदै उनीहरूबाट पाँच हजार राजस्व सङ्कलन गरेको मल्लले बताए । यसै अवधिमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने १७ वटा सवारी साधनलाई कारबाही गरी १७ हजार राजस्व सङ्कलन गरिएको छ ।

कोहलपुर र नेपालगन्ज बजार क्षेत्रमा प्रेसर हर्नको प्रयोग गर्ने सवारी साधनलाई कारबाही गरिएको बताउँदै उनले १०३ वटा सवारी साधनमा राखिएका प्रेसर हर्न हटाइएको र ४२ वटालाई कारबाही गरिएको जनाए ।

ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नेपाल प्रहरीसँगको सहकार्यमा दैनिक चेकजाँच, आकस्मिक चेकिङ, मापसे चेकिङ, बढी भाडा लिने सवारी अनुगमन, आरक्षण सिट अनुगमन गरिरहेको जनाइएको छ ।

नेपालगन्ज बजारभित्र राखिएका अव्यवस्थित ठेलालाई नगर प्रहरीसँग समन्वय गरी हटाउने कार्य सुरु गर्नुका साथै चाडपर्व लक्षित मोबाइल चेकिङ गरिएको, यात्रुवाहक सवारी साधनका चालक परिचालकलाई सवारी दुर्घटनासम्बन्धी प्रशिक्षण प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार ०९:१२