काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतका लागि राखेको प्रस्तावको टुंगो आज लाग्दैछ ।
नेकपा (एमाले) विभाजनपछि अल्पमतमा परेकी शाक्यले गत अजोस २४ गते विश्वासको मतका लागि प्रस्ताव राखेकी थिइन् । उक्त प्रस्ताव आज अपराह्न ४ बजे वाग्मती प्रदेशसभा बैठकमा निर्णयार्थ प्रस्तुत हुनेछ ।
१०९ प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा सरकार जोगाउन कम्तीमा ५५ सांसद चाहिन्छ । भदौ २ मा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना कम छ ।
तथापि अरु दलको साझेदारीमा बहुमत प्राप्त गर्न सकिने अपेक्षा एमालेको छ । प्रदेशमा ५६ सांसद रहेको एमाले विभाजनपछि ४३ सदस्यमा सीमित छ ।
एमालेबाट विभाजित बनेका नेकपा एकीकृत समाजवादीका १३ सांसद वहुमत अल्पमतका लागि निर्णायक छन् । तर‚ गठबन्धनबाहिर रहेका अन्य साना दलसँग मिल्दा पनि मुख्यमन्त्री शाक्यका लागि आवश्यक मत पुग्दैन ।
४३ जना सांसद रहेको एमालेले गठबन्धनबाहिर रहेका विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग सहकार्य गर्दा पनि आवश्यक मत पुर्याउन सक्दैन।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, नेकपा एकीकृत समाजवादीका १३ र जनता सामाजवादी पार्टीका एकसहित विपक्षी गठबन्धनसँग ६० प्रदेशसभा सदस्य छन् ।
यो समीकरणमा कुनै परिवर्तन नआए शाक्य मुख्यमन्त्री पदमा अल्पमतमा पर्ने निश्चित छ ।
।