सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा बाढीको वितण्डा: बसपार्क बगायो, टेलिफोन र विधुत सेवा अवरुद्ध

बझाङ । लगातारको बर्षाका कारण सेती नदीमा पानीको वहाव बढे पछि बझाङ बाढीेको उच्च जोखिममा परेको छ ।

मनसुन बाहिरिएको भएपनि मौसममा आएको परिवर्तन सँगै भएको अविरल वर्षाका कारण सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठुला खोलामा पानीको बहाव बढेको छ ।

नदीमा पानीको बहाव बढे पछि जिल्ला प्रशासन कार्यालय बझाङले बाढीको खतराको संकेत नजिक पुगेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

एक सुचना जारी गर्दै जिल्ला प्रसासन कार्यालय बझाङले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको छ ।

प्रशासनले नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, संकलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिड्ने काम नगरी उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानिय निरनराम जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सेती र बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ । बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।

सदरमुकामको पुर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ ।

बाहुली खोलाको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाड तर्फ तटबन्धन गरिएको छ । लगातारको बर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ ।

त्यस्तै सिमखेत बजारका एउटा अटोपार्टस बगाएको छ, भने एक घर जोखिममा रहेको छ । बाहुली खोला किनारमा रहेका बंगुर र कुखुराका खोरहरु बगाएको छ ।

टेलिफोन, एफ.एम रेडियो र विधुत सेवा पनि अवरुद्ध
तीन दिन देखि घाम नलाग्दा बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य उर्जामा निर्भर बझाङका टेलिफोन टावरहरूमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिन देखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।

लगातारको बर्षाले जिल्लामा बाढी पहिरोको जोखिम रहेको र केहि भईहाले पनि अत्यावस्यक कामका लागी खबर गर्न नेटवर्क नहुँदा निकै सास्ती भएको खप्तडछान्ना गाउँपालिका–४ का ईश्वर रोकायाले बताउनुभयो ।

नेपाल टेलिकम शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिफोनका टावरहरुमा विधुत सेवा नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताउनुभयो ।

सौर्य उर्जाको भरमा संचालित बझाङका एफ.एम रेडियोको प्रसारण पनि अवरुद्ध भएको छ । जिल्लामा रहेका ९ वटै एफ.एम रेडियोको रिले स्टेसनमा सौर्य उर्जा जडान गरिएको छ ।

रिले स्टेसनमा घाम नलाग्दा ब्याट्रि चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सुचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफ. एम का अध्यक्ष प्रताप ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सामुदायिक रेडियोको कामनै समयमै आम स्रोतालाई सुचना दिएर सर्तक बनाउनु हो । सबै रेडियोले सदरमुकाम भन्दा टाढाका डाँडाहरुमा रिले टावर राखेर संचालन गरिरहेका छौ ।

दुई दिन घाम नलाग्दा सोलार चार्ज हुन नपाएर विपदको बेला सुचना प्रवाह गर्न सकिएन ।’ आईतबार साँझ देखि जिल्लामा विधुत सेवा पनि अवरुद्ध भएको छ । विधुत सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज ठप्प भएका छन ।

प्रादेशिक विद्युत प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाईन पुगेका ६ पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको छ । हावाहुरी तथा अविरल वर्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाईनमा समस्या देखिदा विधुत सेवा अवरुद्ध भएको छ ।

जयपृथ्वी राजमार्ग पनि अवरुद्ध
अविरल बर्षाका कारण आईतबार राती देखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्युँ गाँउपालिकाको नारुगौडामा बाढी आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको वहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरु विच बाटोमै अलपत्र परेका छन ।

विभिन्न ठाँउमा क्षति नेटवर्क नहुँदा एकिन विवरण आउन सकेन
वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति भएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालंगा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ ।

धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । पाकेर ठिक्क भएको र काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका ५ का नरेस सिंहले बताउनुभयो ।

धान काटी सकेको भएपनि चुटन बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको सिंहको भनाई छ । पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साईलाबगर, केदारस्युँ गाँउपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, विजगडा, गिरौ लगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो ।

बाहुली खोलामा आएको बाढीले जिल्ला सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुई वटा पोल्टी फर्म, बंगुर फर्म बगाएको छ । विभिन्न ठाँउमा गएको पहिरोले सयौ परिवार विस्थापित हुन पुगेका छन ।

बाढीका कारण लघु जलविधुत आयोजना, नहर, विध्यालय, ग्रामिण सडकमा क्षति पुगेको छ । पहिरोले सयौ रोपनि खेत पनि बगाएको छ । मोवाईलमा नेटवर्क नहुँदा क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खडकाले बताए ।

जिल्लाका ३९५ स्थान बाढी तथा पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांङकमा उल्लेख गरिएको छ । जयपृथ्वी नगरपालिकाका ११६, बुंगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथलि गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४, वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताउनुभयो ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १८:३५