सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज मेडिकल कलेजको प्रशासनिक कक्षमा तालाबन्दी

बाँके । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले मंगलवार प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् ।

तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु सोमवारदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

तलवभत्ता वृद्धि हुनुपर्ने, दरवन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनु पर्नेलगायतका माग उनीहरुको छ ।

आन्दोलन परिचालन समितिका संयोजक यम बहादुर खड्काले पर्सिसम्म आफ्ना माग सम्वोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १७:५९