गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाउने सहमतिसँगै रुबीले १३ दिन लामो अनसन तोडेकी हुन् । माइतीघर मण्डलामा मानअवधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अनसन तोडाएका हुन् ।
नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि काठमाडौं आएका उनीहरूको एक महिने संघर्ष निकै दर्दनाक छ । गृह मन्त्रालयका सह–सचिव फणिन्द्रमणि पोखरेलबाट जुस खाएर अनसन तोड्नुअघि नै रुबीले पत्रकारहरूसँग आफ्नो पीडा पोखिन् ।
रुबीका अनुसार असोज २२ गते साँझ पक्राउ गरेपछि उनलाई खुट्टाको घाउमा टाँका लगाउने भन्दै वीर अस्पताल पुर्याइयो । त्यहाँ उपचार गर्ने काम नसक्दै सोह्रखुट्टे प्रहरी हिरासतमा रातभरि राखियो । भोलिपल्ट जहाजबाट बाँके जिल्ला प्रहरी कार्यालय लगिएको खानलाई त्यहाँ बारम्बार अनसन तोड्न दबाब दिइएको उनले बताइन् ।
पक्राउ गरेको केही दिनसम्म मलाई प्रहरीले एक कल फोनसमेत गर्न दिएन । मेरो वकिललाई, परिवारलाई फोन गर्छु भन्दा उनीहरूले फोन गर्न दिएनन् । पुरुष प्रहरीहरूले तानातान गर्दा नै मेरो फोन फुटिसकेको थियो । उपचार गर्न अस्पताल लगे पनि चेकजाँच गर्न नपाउँदै फेरि हिरासतमा नै लगियो ।
नेपालगञ्जको भेरी अस्पतालमा पनि मलाई ‘यो हिरासतमा भएको मान्छे हो’ भनेर मानिसहरूको अगाडि प्रहरीले नै बदनाम गर्न खोजे । स्वास्थ्य अवस्था निकै जटिल भएको बेलामा प्रहरीले लछापछार गर्दा असाध्यै गाह्रो भयो । त्यतिबेला मलाई फेरि जिउँदै सडकमा आउन सक्छु भन्ने लागेकै थिएन । पत्रकार, अधिकारकर्मी र अभियन्ताहरू सबैको प्रयासले आज बाहिर आउन सकेको छु ।
म आमरण अनसन गरेको मान्छेलाई प्रहरीले किन लछारपछार गरे मैले बुझ्न सकेको थिइनँ । ओढ्ने, ओछ्याउने माग्दा पनि दिएनन् । चिसोले स्वास्थ्य झनै खराब भयो । नेपालगञ्ज र काठमाडौंको हिरासतका प्रहरीले मान्छेलाई होइन कुनै वस्तुलाई समातिरहेको जस्तो व्यवहार गरे । उनीहरूले सामान्य मानवीयताको समेत ख्याल नगरी पशुलाई गरेजस्तो व्यवहार गर्दा मलाई मानसिक रुपमा ठूलो आघात पर्यो।
अहिलेसम्म मेरो महत्त्वपूर्ण सामग्री रहेको ल्यापटप, मोबाइल र कागजपत्र प्रहरीले दिएका छैनन् । त्यो कहाँ छ भन्ने पनि थाहा छैन ।
मेरो रिहाइ र आजको सम्झौता मेरोमात्र जित होइन, सबै न्यायप्रेमी र पीडितहरूले पाएको राहत हो । यदि नेपाल सरकारले आज गरेको सम्झौता अक्षरशः पालन गरेन भने हामी योभन्दा कडा आन्दोलन गर्छौं । जति नै यातना र सास्ती पाए पनि हामी थाकेका छैनौं ।
सबै न्यायप्रेमीहरूलाई हार्दिक धन्यवाद !
।