सूचनाको शक्ति - The Power Of Information

        

बाढीको कहर

कञ्चनपुरमा एकै परिवारका ५ जना बाढीमा फसे, मन्त्री जोशी उद्धारका लागि जाँदै

उद्धारका लागि हेलिकोप्टर उड्यो

कञ्चनपुर । महाकाली नदीको बाढीमा फसेका पाँच जना स्थानीय उद्धारको पर्खाइमा छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका ३५ वर्षीय पुष्कर नायक, ४५ वर्षीय दीर्घमती खड्का, ३२ वर्षीय शान्ती नायक, ९ वर्षीय असोक नायक र ५ वर्षीय अजय नायक सोमवार रातीबाट बाढीमा फसेका हुन ।

उनीहरुको उद्धारका लागि खल्लास्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) र ब्रह्मदेव प्रहरी चौकीबाट सुरक्षाकर्मीको टोली खटिएको छ ।

‘हिजो राती उहाँहरु कुखुराको खोर कुर्न गएका थिए । महाकालीको बाढी खोरतिर पसेपछि नदीमा फसेको खबर आएको छ,’ उद्धारका लागि त्यसतर्फ गइरहेका एक सुरक्षाकर्मीले भने, ‘उहाँहरु रुखमा बसेको जानकारी आएको छ । हामी उद्धारको लागि त्यसतर्फ गइरहेका छौँ ।’

बाटोमा अवरोध हुँदा उद्धार टोली उनीहरु फसेको ठाउँसम्म अझै पुग्न सकेको छैन । ‘त्यहाँ पुग्दा हामीले मसेट्टी र टुडीखेलबीचको काली खोला तर्नु पर्ने हुन्छ । पानीको बहाब बढि हुनाले तर्न सकिरहेका छैनौँ,’ ती सुरक्षाकर्मीले भने ।

यसैबिच, सुदुरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी पनि आँफै उद्धारका लागि जाँदै छिन् ।

यस्तै,  बाढीमा फसेकालाई हेलिकप्टरबाट उद्धार गरिने कानुनमन्त्री पूर्णा जोशीले बताइन् ।

‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर उड्न सकेको छैन ।’ उनले भनिन्, ‘महाकालीमा मानिस फसेका छन् । पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ । हामी उद्धार गर्छौ ।’

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार १०:५२