सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पछिल्लो एक महिनामा १५ सडक दुर्घटना, ८ जनाले ज्यान गुमाए

बाँके । बाँकेमा पछिल्लो एक महिनामा भएका १५ वटा सडक दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन भने ४ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार सबैभन्दा बढी सवारी दुर्घटनामा परेर पूर्वपश्चिम राजमार्गको कोहलपुर–शिवखोला सडक खण्डमा ३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी नेपालगञ्ज–गुलरिया सडक खण्डको धनौली क्षेत्रमा २ जनाले, राझा नजिकै १ जना, नेपालगञ्ज सुर्खेतरोडमा १ जनाले र राझाको गाउभित्र एकजनाले सवारी दुर्घटनामा परेर ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरिक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

उनले एक महिनाको अवधीमा ट्राफिक नियम विपरित सडकमा गुडेका २ हजार ८ सय ५० सवारी साधनलाई कारवाही गरी १५ लाख ८० हजार राजस्व समेत संकलन गरिएको बताए ।

उनले असोज महिनामा मापसे कारवाहीमा ५ जना परेको जानकारी दिदै उनीहरुबाट ५ हजार राजस्व संकलन गरिएको बताए । यसै अबधीमा सिट क्षमता भन्दा बढी यात्रु राख्ने १७ वटा सवारी साधनलाई कारवाही गरि १७ हजार राजस्व संकलन गरिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलवार ०८:३८