बाँके । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् । तलब वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् ।
अस्पतालमा क्रियाशील कर्मचारी सङ्गठन, कर्मचारी सङ्घ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको संयुक्त नेतृत्वमा सोमवारदेखि कर्मचारीहरू हातमा कालो पट्टी बाँधेर आन्दोलनमा सहभागी भएका आन्दोलन परिचालन समितिका संयोजक यमबहादुर खड्काले जानकारी दिनुभयो ।
आन्दोलनबारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा संयोजक खड्काले माग सम्बाेधन नभए आज मङ्गलवार प्रशासनिक कार्यालयहरूमा तालाबन्दी गरिने जानकारी दिनुभयो ।
यस्तै बुधवार आपत्कालीन सेवाबाहेकका काम बन्द गरिने पनि उहाँले बताउनुभयो ।
तलब भत्ता वृद्धि हुनुपर्ने, दरबन्दी सिर्जना, पदपूर्ति र बढुवा हुनुपर्ने, अवकाश, उपदान, बीमा, सामाजिक सुरक्षा कोषलाई व्यवस्थित र प्रभावकारी गराइनुपर्ने लगायतका माग उनीहरूको छ ।
।