सूचनाको शक्ति - The Power Of Information

        

प्रशासन

डुडुवा गाउँपालिकामा कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा कानुनका कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको छ । गाउँपालिकामा आर्थिक वर्ष २०७६/०७७ मा ३५ वटा उजुरी दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ को हालसम्म ५० वटा उजुरी दर्ता भएका छन् ।

जसमा जग्गा सम्बन्धित विवाद, ऐलानी जग्गाका लगायतका विषयमा धेरै उजुरी आउने गरेका डुडुवा गाउँपालिका उपाध्यक्ष साहिदा बानोले बताइन् । उनका अनुसार श्रीमान–श्रीमती बीचको झै–झगडा र देवर–भाउजू, सासूबुहारीबीचको झगडाका उजुरी पनि धेरै आउने गरेका छन् ।

वडाबाट समस्याको समाधान हुन नसक्दा मुद्दा मात्र गाउँपालिकाले हेर्ने गरेको छ । पालिकामा आएका उजुरीउपर दुवै पक्षलाई राखेर छलफल गरी सेवाग्राहीको चित्त बुझाएर समस्याको समाधान गरी दुवै पक्षलाई मिलाएर पठाउने गरिएको उपाध्यक्ष बानोले बताइन् । डुडुवा गाउँपालिकामा कानुनी शाखा तथा कानुनका कर्मचारी नहुँदा न्याय सम्पादनमा समस्या हुने गरेको गाउँपालिकाले जनाएको छ ।

डुडुवा गाउँपालिका–३ का स्थानीय मोहम्मद सफिर खानले सर्वप्रथम गाउँघरमै छलफल गरेर समस्या समाधान गर्ने र त्यसबाट पनि चित्त नबुझेपछि गाउँपालिकाको न्यायिक समितिमा गएर छलफल तथा विवादको समाधान खोज्ने गरिएको बताए । डुडुवा गाउँपालिका–२ का स्थानीय राधेश्याम हरिजनले न्यायिक समितिमा परेका निवेदनको समितिले सहज तरिकाले छलफल गराएर समस्या समाधान गराइरहेको बताए ।

गाउँघरमा विवाद नमिलेको खण्डमा मात्र पालिकाको न्यायिक समितिमा जाने गरको स्थानीयले बताएका छन् । साथै हरेक किसिमको विवादको समाधान पालिकाबाट हुँदा आफूहरू सन्तुष्ट रहेको उनीहरूको भनाइ छ । समितिमा परेका निवेदनको छिनोफानो गर्दै आए पनि पालिकामा कानुनी शाखा नभएकै कारण पटक पटक न्याय सम्पादन गर्न असहज भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ११:३९