बेइजिङ । चीनका दुई प्रमुख सहर बेइजिङ र सांघाई बाहिर केबल दुई घण्टाको दूरीसम्म पहिलो पटक ड्राइभमा जाँदा जो कोहीले पनि अनौठो महसुस गर्नेछ । हेर्दा सामान्य, आधुनिक र राम्रो अवस्थामा देखिने त्यहाँका सहरभरी प्रशस्त अग्ला भवनहरु छन् तर आश्चर्यजनक सबै खाली छन् । त्यहाँ टाढा–टाढासम्म मान्छेको कुनै निशान देख्न सकिँदैन ।
तिनलाई चीनको ‘गोस्ट सिटिज’ अर्थात भूतीया सहर पनि भन्ने गरिन्छ । यसबारे थुप्रै डक्युमेन्टरीहरु पनि बनिसकेका छन् । यी मध्येको सबैभन्दा नाम चलेको भूतीया सहर मंगोलिया क्षेत्रमा पर्ने ‘ओर्दोस न्यु टाउन’ रहेको छ । सन् २००० को सुरुवातमा निर्माण सुरु गरिएको सो सहरमा दश लाख मानिसलाई बसोबास गराउने उद्देश्य थियो ।
तर, २०१६ पछि त्यहाँ केबल १ लाख मानिस मात्र बस्छन् । यसरी वासिन्दालाई सहरतर्फ आकर्षित गराउन चीनले देशका केही शिर्ष स्कुलहरुलाई त्यहाँ सारेको यसअघि निकेइले रिपोर्ट गरेको थियो । २०१५ मा तिनै खाली सहरबारे अध्ययन अवलोकन गर्न फोटोग्राफर काइ चीन पुगेका थिए ।
उनले लिएका तस्बिरहरुमा मान्छेविहीन अग्ला–अग्ला भवन मात्र ठडिएको बिरानो सहर देख्न सकिन्छ । अहिलेको अवस्थामा यसलाई दुनियाँभर जारी कोरोना लकडाउन हुँदाका सहरहरुसँग तुलना गर्न सकिन्छ । तर खाली भए पनि ती भवनले चीनको अत्याधिक ठूलो हाउजिङ बजारमा उल्लेखनीय भूमिका खेल्दछन् । चिनियाँ हाउजिङ बजार अमेरिकाको भन्दा दुई गुणा ठूलो छ र यसको भाउ २०१९ मा ५२ ट्रिलियन डलर पुगेको थियो ।
तर, २०१७ को द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार त्यहाँका झन्डै ६ करोड ५० लाख अर्थात २१ प्रतिशत घरहरु खाली छन् । ती खाली ठाउँ फ्रान्सको पूरै जनङ्ख्या अटाउन सक्ने गरी ठूलो छ । तर, अमेरिका र जापानमा जसरी छाडिएका घरहरुलाई भूतिया भन्नुको सट्टा चीनमा चाहिँ यसलाई अस्थाइ रुपमा मात्र खाली मानिदै आएको छ । अझै पनि मानिस बस्न आउनेछन् भन्ने सबैको विश्वास छ ।

कसरी खाली भए त्यति धेरै घर ?
वास्तवमा चीनका यी भूतिया घर लगानी स्वरुप निर्माण गरिएका नयाँ आधुनिक भवनहरु हुन् । माग र आपूर्तिबीचको असन्तुलनका कारण ती भवन खाली हुन पुगेका छन् । किङ्स कलेज लन्डनका वरिष्ठ लेक्चरर, जिन शन भन्छन्, ‘यी घरहरु खाली हुनुको अर्थ बिक्री भइसकेको या भाडामा लागिसकेको भन्ने बुझ्न सकिन्छ । तर भाडामा दिने र भाडामा बस्ने कसैले पनि प्रयोग नगरेकाले अहिलेका लागि खाली भएको हो ।’
हरेक वर्ष चीनले १ करोड ५० लाखभन्दा बढी नयाँ घरहरु निर्माण गर्ने गरेको इकोनोमिस्टको रिपोर्टमा उल्लेख छ जुन अमेरिका र युरोपलाई मिलाएर पनि पाँच गुणा बढी हुन्छ । त्यस्तै यसले चीनमा बढ्दो सहरीकण दरमाथि पनि प्रकाश पारेको छ । विश्व बैंकको डाटा अनुसार गत वर्ष चीनको ६१ प्रतिशत जनसङ्ख्या सहरमा बसोबास गरेका छन् । दुई दशक अगाडि यो दर ३५.८ प्रतिशत मात्र थियो ।
तर, अर्कोतर्फ यो तथ्यांकलाई पूर्णरुपमा सही भन्न नसकिने पनि बताइन्छ । किनकी ग्रामीण क्षेत्रहरु सहर बन्दै गइरहँदा त्यहाँका वासिन्दासँग पहिले नै घर हुने हुँदा उनीहरु नयाँ ठाउँमा सर्दैनन् । तर, यसका वावजुद सहरीकरण दरमा योगदान चाहिँ पुर्याउँछन् । गान भन्छन्, ‘यसमा मुख्य समस्या भनेको चीनले आफ्नो सहरीकरण दरलाई बढी नै दाबी गरिरहेको छ र कति मान्छे ग्रामीणबाट सहरी क्षेत्रमा सर्न चाहन्छन् भन्नेको स्पष्ट तथ्यांक छैन ।’

घरजग्गामा लगानी गर्ने पुरानो चलन
घरजग्गाको भाउ लगातार बढिरहनाले पनि चीनमा आवश्यकता नभइकन घर किन्ने चलन व्याप्त छ । सन भन्छन्, ‘सम्पत्ति जोड्ने र संरक्षण गर्ने सबैभन्दा उपयुक्त विकल्प घरजग्गा नै भएको विश्वासका कारण पनि घरजग्गामा लगानी बढेको बढ्यै छ ।’ आफ्नै घर हुनेहरुको दर चीनमा उच्च छ । जनवरीको रिसर्च अनुसार ९० प्रतिशत वासिन्दाको आफ्नै घर छ भने २० प्रतिशतभन्दा धेरैको एउटाभन्दा धेरै घर छ । अमेरिकासँग यसको तुलना गर्नुपर्दा त्यहाँ केबल ६५ प्रतिशतसँग मात्र आफ्नै घर छ ।
तर, अपार्टमेन्ट र युनिटहरुको माग चाहिँ विभिन्न कारण प्रभावित भइरहेको छ । लगानीकर्ताहरुले आवश्यकताभन्दा बढी युनिटहरु निर्माण गर्ने र सबै बेच्नु परेकाले पनि घरहरु खाली हुन पुगेको गनले बताए । यस्तोमा केही वर्षपछि घरजग्गाको मूल्यमा अकस्मात गिरावट आउने खतरा पनि रहेको विश्लेषकहरुले बताइरहेका छन् । अहिलेका लागि चीन सरकार र लगानीकर्ताहरुले यस किसिमका ‘गोस्ट सिटिज’मा मान्छे भित्र्याउन विभिन्न आकर्षक सेवा सुविधाहरु ल्याइरहेका छन् ।
।