सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

वाग्मतीमा सत्ता समीकरणको दाउ, इन्द्र र राजेन्द्र मुख्यमन्त्रीको दौडमा

काठमाडौं । पार्टीभित्र चर्को विवाद हुँदै वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले कात्तिक ४ गते विश्वासको मत लिँदैछिन् । मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन ६ दिनअघि बसेको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गरेकी हुन् । २४ असोजमा मुख्यमन्त्रीले गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो कात्तिक ४ गते बस्ने प्रदेशसभा बैठकबाट हुँदैछ ।

२५ भदौंमा नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपरेको हो । नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार तथा वाग्मती प्रदेशसभा नियमावलीको धारा १४३ को १ अनुसार शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यता छ । समीकरण हेर्दा मुख्यमन्त्री शाक्यलाई विश्वासको मत लिन सहज छैन ।

१०९ सांसद रहेको प्रदेशसभामा शाक्यलाई आफ्नो पद जोगाउन ५५ सांसद चाहिन्छ । तर, उनको दल नेकपा एमालेसँग ४३ सांसद छन् । गठबन्धनमा आवद्ध दलसँग ५८ मत रहेको छ । मुख्यमन्त्री शाक्यले गठबन्धन बाहिरका दलहरुबाट साथ पाए पनि मात्र ५१ जना सांसद संख्या पुग्छ । गठबन्धनमा नभएका दलहरु विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २÷२ र एकजना स्वतन्त्र सांसद छन् ।

सभापतिको इसारा कुर्दै कांग्रेस

प्रदेश गठबन्धनको दोस्रो मुख्य दल नेपाली कांग्रेससँग प्रदेश सभामा २२ सिट छ । कांग्रेसको जोड वाग्मतीमा आफ्नो नेतृत्वमा सरकार बनाउनेमा छ । प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भइरहेको बताए । २४ असोजमा बसेको पार्टी संसदीय दलको बैठकले सत्ता समीकरण मिलाउने सम्पूर्ण जिम्मेवारी नेता बानियाँलाई दिएको थियो ।

तर, मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने समय नजिकिँदासमेत समीकरणमा कांग्रेसले आफ्नो ‘पोजिसन क्लियर’ गर्न सकेको छैन । केन्द्रीय समीकरण अनुसार प्रदेशको नेतृत्व नेकपा (एकिकृत समाजवादी) ले गर्ने गठबन्धनमा भद्र सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले २२ असोजमा मन्त्रिपरिषदलाई पूर्णता दिनुपूर्व प्रदेश १ र वाग्मतीको नेतृत्व नेकपा(एस) लाई दिने सहमति भएको थियो ।

२१ असोजमा बसेको नेकपा(एस) को केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रदेश १ र वाग्मतीमा पार्टीको नेतृत्वमा सरकार बन्ने गठबन्धनमा सहमति भएको व्रिफिङ गरेका थिए । तर, नेता बानियाँ यो विषयमा आफूहरु जानकार नभएको बताउँछन् । प्रदेशमा गठबन्धनको ठूलो दल नेकपा माओवादीसँग २३ सिट छ । नेकपा (एस)सँग १३ सिट छ । नेकपा एसबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

वाग्मती प्रदेश कांग्रेस संसदीय कार्यसमितिका एक पदाधिकारी केन्द्रले आफूहरुलाई केही सर्कुलर नगरेको बताउँछन् । ‘नेकपा(एस)का साथीहरु माथि सहमति भएको छ अब हाम्रोबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का छ भन्छन्,’ त्यी पदाधीकारी भन्छन्, ‘लिखित वा भद्र जे सहमति भए पनि हामी संसदीय दललाई जानकारी आउनुपर्ने हो, तर खै केही आएको छैन,’ त्यी नेताका अनुसार कांग्रेसले वाग्मतीमा दाबी छाड्ने सम्भावना न्यून छ ।

केन्द्रबाट सत्ताको नेतृत्व सम्बन्धमा स्पष्ट कुरा नआउँदा गठबन्धनको बैठकमै कसरी प्रस्तुत हुनेमा कांग्रेसमा अलमल छ । मुख्यमन्त्रीको दाबी गरे पनि छोड्नुपर्ने अवस्था आए कुन र कति मन्त्रालयल लिने भन्ने सामान्य छलफल पार्टीमा हुन सकेको छैन । केन्द्रले स्पष्ट ‘रोड म्याप’ प्रदान गर्न नसक्दा गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्न सकेको छैन । वाग्मती प्रदेशमा गठबन्धनमा आवद्ध ५ दलमध्ये ३ दलको उपस्थिती रहेको छ ।

‘चाडपर्वले गर्दा गठबन्धनसँग बैठक बस्न पाएको छैन, केन्द्रले स्पष्ट यसरी कुरा मिलाउन भने पो बैठक बस्न सहज हुन्थ्यो,’ त्यी पदाधिकारी भन्छन्, ‘दुःख चाहिँ के भने मुख्यमन्त्री पाए के–के छोड्ने नपाए के–के लिने भन्ने विषयमा प्याकेजमा डिल गर्ने वातावरण नै बनेन ।’ कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदार तथा संसदीय दलका नेता इन्द्र बानियाँ अहिले हेटौंडामा छन् ।

सकेसम्म भोलि नै उनी काठमाडौं आएर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासँग समीकरणको विषयमा परामर्श गर्ने तयारीमा छन् । उनी निकट एक नेताका अनुसार देउवाको निर्णय अनुसार नै प्रदेश समीकरणको फाइनल हुनेछ । ‘शेरबहादुर दाइसँग परामर्श गर्न उहाँ भोलिसम्म काठमाडौं पुग्नुहुन्छ,’ उनले भने, ‘सभापतिसँगको परामर्श नै निर्णायक हुनेछ, त्यसपछि हामी संसदीय दलको बैठक बस्छौं ।’

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ०८:४८