सूचनाको शक्ति - The Power Of Information

        

२५ वर्षीय युवकको घाँटी थिचेर हत्या

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–७ मा एक युवाको हत्या भएको छ । करिब २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला प्रहरीले जनाएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।

उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन । कैलालीका एसपी विश्व अधिकारीका अनुसार शनिबार घरबाट करिब ७०० मिटर टाढा रहेको खुटिया खोलाको छेउमा चौधरीको शव फेला परेको थियो । घटना अनुसन्धानका क्रममा उनको हत्या भएको खुलेपछि प्रहरीले पत्नीसहितलार्य पक्राउ गरेको हो ।

चौधरी शुक्रबार साँझ साथीको घरमा जान भन्दै घरबाट निस्किएका थिए । रातभर उनी घर नफर्किएपछि उनको खोजी सुरु भएको थियो । चौधरी र पत्नीबीच राम्रो सम्बन्ध नरहेको स्थानीयले बताएका छन् । उनीहरुका तीन वर्षीय छोरा छन् । चौधरीको घाँटी थिचेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार १२:४२