सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा एक जनाको हत्या, श्रीमतीसहित चार जना पक्राउ

कैलाली । कैलालीमा एक जनाको हत्या भएको छ ।

धनगढी उपमहानगरपालिका–७ का अन्दाजी २५ वर्षीय रमेश चौधरीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको घटना अनुसन्धानका लागि रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले शनिबार बिहान घरदेखि करिब ७ सय मिटर टाढा खुटिया खोलाको छेउमा मृत अवस्थामा फेला परेका चौधरीको हत्या गरिएको खुलेको जानकारी दिए ।

शुक्रबार साँझ साथीकोमा जान भन्दै घरबाट निस्किएका उनी बिहान मृत अवस्थामा फेला परेका थिए । प्रारम्भिक रुपमा उनको घाँटी थिचेर हत्या गरेको पाइएपछि प्रहरीले संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरुको नाम भने खुलाएको छैन । मृतक चौधरीका तीन वर्षीय छोरा छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार १०:११