सूचनाको शक्ति - The Power Of Information

        

दसैंमा सल्यानका दर्जन बढी घर र पसलमा चोरी

सल्यान । सल्यानमा दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बजारका आठ पसल, घर र विद्यालयमा गत शुक्रबार राती अज्ञात समूहले एकैसाथ चोरी गरेको प्रहरीले जनाएको छ ।

दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीकाटाला तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले सामूहिक रुपमा चौरी गरेको प्रहरीले जनाएको छ । पसल तथा घरमा लगाएको ताला फोडी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद, सुनका गहना, रिचार्जकार्ड लगायत अन्य सामग्री चोरेर लगेका छन् ।

अज्ञात समूहले दमाचौर बजारका चुडामणी बस्नेतको मेडिकलको ताला फोडेर नगद ५० हजार, केशब केसीको पसलबाट ४ हजारको रिचार्ज कार्ड, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका वडाध्यक्ष नेबबहादुर शाहको घरबाट १ लाख २० हजार बराबरको ढाई तोला सुन, चित्रजंग शाहको मेडिकलबाट ७९ हजार नगद १ लाख २० हजार बराबरको ढाई तोला सुन चोरी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले यमलाल जैसीको पसलबाट ५ हजार नगद, भारतीकुमारी बिकको घरबाट १२ हजार नगद, दिनेश बुढाथोकीको मोबाइल पसलबाट ४० हजार बराबरको तीन थान मोबाइल चोरेर लगेको बताए । उनका अनुसार सामूहिक रुपमा आठ पसल, मेडिकल र व्यक्तिको घरमा चोरी गरेको समूहले स्थानीय भानुभक्त माविको तालासमेत फोरिएको छ ।

चाडपर्वको समयमा जुवा खेल्नेहरुले पसल तथा व्यक्तिका घरमा चोरी गरेको हुनसक्ने भन्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार अहिले घटनास्थलमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । संकास्पद व्यक्तिलाई सोधपुछको कामसमेत भइरहेको उनले बताए । यस्तै बागचौर नगरपालिका–८ मा रहेको कालिका माध्यमिक विद्यालयमा पनि अज्ञात समूहले चोरी गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०८:४८