सूचनाको शक्ति - The Power Of Information

        

बेथिति

पाँच वर्षमा दुई किलोमिटर सडक पनि कालोपत्रे भएन, स्थानीय सरकार मौन

निर्माण कम्पनीले चाँच वर्षदेखि अलपत्र पारेको खजुराको सडक ।

बाँके । बाँकेको खजुरा बजारको दुई किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने कार्य ५ वर्षमा पनि पुरा हुन सकेको छैन । ३ वर्षमा दुई किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने भन्दै २०७४ चैतमा निर्माण कम्पनी गजुरमुखी निर्माण सेवाले सम्झौता गरेकोमा सम्झौता गरेको ५ वर्ष बिते पनि सडक निर्माण अझै अलपत्र छ ।

पटक पटक म्याद थपेर पनि ठेकेदार कम्पनीले सडक कालोपत्रेको काम पूरा नगरेपछि खजुराका स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरुले सो सडकको निर्माण छिटो पूरा गर्न दबाव दिन पटक पटक चक्काजाम गर्दै आएका छन् । नेपालगन्ज–गुलरिया सडक अन्तरगत खजुरा गाउँपालिकाको खजुरा बजारमा दुई किलोमिटर चार लेन सडकको निर्माण बीचमै छोडेर अलपत्र पारेपछि आवागमनमा समस्या भैरहेको छ ।

तीन पटक विभिन्न बहाना बनाएर म्याद थप गरिसकेको ठेकेदार कम्पनी गजुरमुखी निर्माण कम्पनीको २०७७ चैत महिनामा थपिएको म्याद सकिए पनि सडकको काम अलपत्र अवस्थामै रहेको स्थानीय सतिश निरौलाले बताए । उनका अनुसार सो सडक बनाउँदा बनाउँदै अलपत्र पारेपछि सडक किनारका व्यवसायी र आवागमन गर्नेहरु गर्मीमा धुलो र वर्षामा हिलोबाट आक्रान्त बन्दै आएका छन् ।

खजुरा बजारको बीच भागमा एकतर्फी ड्रेन बनाएर वर्षौंदेखि सडक अलपत्र पारिदिँदा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको छ । साबिक सडक भत्काएर निर्माणको काम आधाआधी गरेर छाडिएका कारण पानी नपर्दा धुलो र पानी पर्दा हिलो हुने गरेको स्थानीयको गुनासो छ । निर्माणधीन सडकमा खसालिएको गिट्टी र ढुंगा सवारी साधनले उछिट्याउँदा कतिपय सडक किनारका पैदल यात्रुहरु घाइते समेत बनेको अर्का स्थानीय दिनेश थापाले बताए ।

निर्माण कम्पनीले पुन म्याद थप्नका लागि निवेदन दिए पनि म्याद थप नभएको सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख होमबहादुर एसीले बताए । उनले दशैँलगत्तै कालोपत्रेको काम शुरु गर्ने ठेकेदार कम्पनीबाट जानकारी आएको बताउँदै नाली निर्माणका सम्बन्धमा नयाँ भिओ स्विकृतिका लागि केन्द्रमा पठाइएको पनि बताए ।

स्थानीयवासीले हरेक दिन भोग्नुपरेको सास्तीका विषयमा स्थानीय सरकारसमेत मौन रहनु रहस्यमय बनेको स्थानीयको भनाइ छ । स्थानीयले चक्का जाम नै गरेर विरोध जनाउँदासमेत स्थानीय सरकारले कुनै पनि चासो नलिएको स्थानीय राजेश आचार्यले बताए । सो बारेमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसँग प्रतिक्रिया माग्दा उनले गाउँपालिकाले सो बारेमा सहजिकरण गरिरहेको र छिट्टै सडक निर्माण पूरा हुने बताए ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०८:४१