सूचनाको शक्ति - The Power Of Information

        

समाचार

ढकेरी क्षेत्रमा पाटेबाघ देखिएपछि आवतजावतमा कडाई

फाइल तस्वीर

बाँके । केही दिन पहिलेसम्म बाँकेको गाभर क्षेत्रमा देखिएका पाटेबाघ अहिले आएर ढकेरीमा देखिएका छन् । पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुर–ढकेरी खण्डमा पाटेबाघ देखिएपछि सवारी आवगमनमा उच्च सतर्कता अपनाइएको छ । सो राजमार्ग नजिक पर्ने गाउँ वस्तीमा समेत बाघ छिर्ने खतरा बढेकोले जानकारी गराएर सतर्क र सुरक्षित रहन सर्वसाधारणलाई बाँके निकुञ्जले आग्रह गरेको जनाएको छ ।

कोहलपुर–ढकेरी सडक खण्डको झिझिरी खोला नजिकै पाटेबाघ देखिएपछि सवारीसाधन लगायत पैदल र साइकलमा यात्रा गर्नेको आवतजावतमा नेपाली सेनाले कडाई गरेको छ । सो सडक खण्डमा नेपाली सेनाले समूहमा मात्र बाईकहरुलाई आवतजावत गर्न दिइरहेको छ । दसैंलाई मध्यनजर गरेर यो सडक खण्डमा सवारी साधनको आवतजावत धेरै भैरहेकोले समूहमा मात्र यात्रा गर्न दिइएको छ ।

भदौंको अन्तिममा कुसुम क्षेत्रमा पाटेबाघको समूह नै देखिएपछि राजमार्गमा आवतजावत गर्दा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले कडाई गरिरहेको थियो । पछिल्लो समय पाटेबाघ देखिरहेकोले राजमार्ग यात्रा गर्नेहरु तथा निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्न मानिसहरुलाई सर्तकता अपनाउन बाँके निकुञ्जले आग्रह गरिरहेको निकुञ्जका प्रमुख श्यामकुमार शाहले बताए ।

उनले निकुञ्ज क्षेत्रमा घर पालुवा जनावर चराउन नलैजानसमेत आग्रह गरिएको बताए । जिल्लाको गाभरमा एक जना भारतीय नागरिकलाई राजमार्गबाटै बाघले तानेर जंगलमा लगेर खाएपछि सो क्षेत्रमा बाघको समुह नै देखिएको थियो । बाघको उक्त समुह पूर्वपश्चिम राजमार्गको अन्य ठाउँमा पनि पटक पटक देखिएपछि स्थानीय तथा आवागमन गर्नेमा डर त्रास बढेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतवार ०८:२०