सूचनाको शक्ति - The Power Of Information

        

साफ च्याम्पियनसिप फाइनल

निलम्बनपछि अलमुताइरी भने, ‘साफलाई नेपालको नतिजा मनपरेको छैन’

काठमाडौं । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन् । यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ । अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

‘मलाई कारबाही गर्नकै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।

हेर्नुहोस् नियमावली

‘आफ्नै नियमलाई पालना नगर्ने हो भने किन राखेको ?,’ उनले प्रश्न गरे । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको पनि अलमुताइरीले गम्भीर आरोप लगाए ।

‘साफलाई सायद नेपालले निकालेको नतिजा मनपरेको छैन । र, यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यो गरेको हुनसक्छ । म ठ्याक्क भन्न सक्दिनँ,’ उनले भनेका छन् । नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै निलम्बन लागू हुने बताएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार १३:१३