सूचनाको शक्ति - The Power Of Information

        

घटाल बाबा मेला : ‘जहाँ धामीले मुखभरी बालुवा लिएर खान्छन्’

डडेल्धुरा । धामीले बालुवा र पानी खाने देवताको मेलाको रूपमा परिचित दसैं जाँत (मेला) सम्पन्न भएको छ । जिल्लाको अमरगढी नगरपालिका–३ डोटी खेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दसैं जाँत (मेला) सम्पन्न भएको हो । यहाँ हरेक वर्ष बडादशैंको अशिग्राम मन्दिरमा दसैं जाँत धुमधामसँग मनाइने गरिन्छ ।

डोटीखोला आसपासका गाउँबस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाका हजारौें भक्तजन दशैं जाँत हेर्न घटाल थान पुगेको घटाल क्षेत्र विकास समाजले जनाएको छ । बिहानैदेखि घटाल बाबाको पूजा गर्न हजारौें मानिस घटाल स्थान पुगेका थिए । पूजाआजासँगै विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर उनीहरू घर फर्किएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णप्रसाद बोहराले बताए ।

‘यहाँ धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गर्छन् । धामी (झाँक्री)हरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भने अहिले पनि १०/१२ मुठी जति मुखभरीको बालुवा–पानीसँगै खाने गर्छन्,’ उनले भने । घटाल बाबासँग कसैले केही मागेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ । यहाँ मनोकामना पूरा भएपछि बोकाको बलि दिने चलन अहिले पनि रहीआएको छ ।

यस्तो छ घटालको महिमा

किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकेपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ । पश्चिमी क्षेत्रमा आस्तिकहरूमाझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । घटस्थापनाका दिन चम्सालमा रहेको देवघरबाट देउताको देउरो घटालस्थान नजिकै अशिग्राम मन्दिरमा पुर्याइन्छ । दसैंको दिन साँझ पुनः देवघरमा फिर्ता ल्याइन्छ ।

दशैँ जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेका पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेका अध्यक्ष बोहरा बताउँछन् । द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डव युद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम देखाएका थिए । उनले कौरव सेनामा धावा बोलेर ठूलो क्षति पुर्याएको धार्मिक ग्रन्थमा उल्लेख छ । लडाइ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कलियुगमा ख्याति प्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको भनाइ छ ।

सदियौंदेखि त्यही मान्यताअनुरुप घटालबाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका स्थानीय बताउँछन् । दशैँ जाँतको अर्को आकर्षण आफन्तसँगको भेटघाट केही समयका लागि भएपनि एकै थलोमा बसेर सुखदुःख साटासाट गर्न पाउनु पनि हो । हालका वर्षमा वैदेशिक रोजगारीतिर जानेहरूको संख्या वर्षेनी बढन थालेको छ । त्यसैले विगतमा जस्तो पुरुषभन्दा मेलामा महिलाहरुको उपस्थिति बढ्दै गएको देखिन्छ । यस्तै, घटाल थानमा हरेक वर्ष २ वैशाखमा मेला लाग्ने गर्छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार ०८:५६