सूचनाको शक्ति - The Power Of Information

        

हिन्दु–मुस्लिमले सामूहिकरुपमा लगाए दसैँको टीका

धनुषा । धनुषाको धनुषाधाम नगरपालिकामा स्थानीय हिन्दु मुस्लिम समुदायले सामूहिकरुपमा दसैँको टीका लगाएका छन् । धनुषाधाम ५ नौसयबिघाका हिन्दु–मुस्लिम समुदायले शुक्रबार एकापसमा मिलेर दसैँको टीका लगाउनुको साथै शुभकमना आदानप्रदान गरेका छन् ।

दसैँको टीका लगाउने शुभ साइतमा उनीहरुले टीका लगाएका हुन् । ‘समाजिक सद्भाव संस्कार’ नारा दिएर आयोजना गरिएको टीका कार्यक्रममा हिन्दुले मुस्लिमलाई र मुस्लिमले हिन्दुलाई दशैंको टीका लगाएर शुभकामना आदानप्रदान गरेका धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए ।

मेयर मण्डलले पनि कार्यक्रममा उपस्थित हिन्दु–मुस्लिम समुदायका नागरिकलाई टीका र जमरा लगाएर आशिर्वाद दिएका थिए । सामूहिक टीका कार्यक्रममा तीनसय धन्दा धेरैको उपस्थित थियो । कार्यक्रममा करिब ६० जना मुस्लिम समुदायका नागरिकले दसैँको टीका लगाएका थिए ।

मेयर मण्डलले नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएकाले सबै धर्म, संस्कृति र परम्परालाई एकअर्को समुदायले सम्मान गर्नुपर्ने बताए । कार्यक्रमका संयोजक शंकर यादवले हिन्दु समुदायले मात्र दसैँमा टीका लगाउने चलनलाई मधेशी तथा अन्य समुदायले सम्मानकासाथ ग्रहण गरुन् भनेर सामूहिक टीका कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार ०८:४८