काठमाडौं । विजयादशमीका दिन नेपालीहरुले ठूलाबडाका हातबाट टीका र जमरा ग्रहण गरे । तर, देशभर टीकाको रौनक रहे पनि अपवादका रुपमा परापूर्वकालदेखि असनमा बसोबास गर्दै आएका नेवार समुदायले भने विजयादशमीमा टीका लगाएनन् ।
खासगरी असनकै रैथाने तुलाधर, शाक्य र बज्राचार्यहरुले विजयादशमीका दिन टीका नलगाएका हुन् । उनीहरुले आज एकादशीको दिन टीका लगाउँदैछन् । यसलाई उनीहरुले ‘असं चालं’का रुपमा मनाउने गर्छन् ।
असनका स्थानीयका अनुसार अन्नपूर्ण मन्दिरका पाःलाः, असं बहालका शाक्य, तक्ष बहालका ब्रजाचार्य र असनकै तुलाधरहरुले दशमीका दिन नभई एकादशीका दिन टीका लगाउँछन् । अन्नपूर्ण जात्रा एकादशीमा मनाउने भएकाले टीका पनि त्यही दिन लगाउने गरिन्छ ।
असनमा दशमीका दिन टीका नलगाउनुका बारे विभिन्न कथनहरु रहेको छ । स्थानीयका अनुसार असनवासी वा असनका तुलाधरहरुले मात्र टीका लगाएनन् भन्नेमा सत्यता छैन । बाहिरबाट असनमा आएर त्यतै बसोबास गर्ने तुलाधर, शाक्य बज्राचार्यका साथै नेवार समुदायका अरु मानिसहरुले भने दशमीका दिन नै टीका लगाउने गर्छन् ।
किन एकादशीका दिन मात्र टीका ?
सम्रात अशोकले भारत वर्षमा शासन गरिरहेका बेला उनी स्वनिगः अर्थात् काठमाडौं उपत्यकामा आए । उनका चेलाहरुले विभिन्न स्थानमा चिबहाः र चैत्यहरु बनाए । अशोकले यस स्थानमा ती चिबहाः र चैत्यहरु बनाएका कारण यस स्थानको नाम ’अशोकमण्डप’ बन्न गयो । पछि अशोकमण्डपको नाम असन रहन गयो ।
अशोकले यसलाई आफ्नो राज्य विस्तार गर्ने रणनीतिका रुपमा कदम चालेका थिए । तर जब उनले निग्रोथ भन्ने एक भिक्षुको शब्दहरु सुने, आफूले गल्ति गरिरहेकोमा पश्चताप गरे । राज्य विस्तारबाट मानिसहरुको मन मस्तिष्कमा बस्न सकिन्नँ भनेर उनले अशोकमण्डपमा विजया दशमीमा शस्त्र त्याग गरेको कथन रहेको छ ।
कालान्तरमा शक्तिको उपासना गर्ने एक समुदायको वर्चश्व कायम हुँदै गर्दा उनीहरुले शक्ति प्राप्तिका लागि भारतमा दुर्गा र यहाँ तलेजु भवानीको उपासना गर्न बाध्य बनाए । उपासना गर्दा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन )को आवश्यकता हुन्थ्यो । त्यस अनुसार वध गर्नु पर्थ्यो ।
तर जब उनीहरुले विजया दशमीमा असनमा पनि वध गर्नुपर्ने बताए, तब अशोकका विचारकहरु मान्दै आएकाहरुले उनीहरुलाई रोके । अशोकले अस्त्र त्याग गरेको स्थानमा बलि दिन नहुने अडान लिए । सारा देशले गरेको,असनमा मात्र नमनाउने कुरा पनि त भएन । त्यसैले दुई पक्षबीच दशमीको भोलिपल्ट बलि दिने सहमति भयो । यसैसँगै असनमा टीका दशमीको भोली पल्ट असं चाल का रुपमा मनाउन गरिएको हो ।
यस्तै, टीकाका दिन तुलाधरहरुले असनमा व्यापार गर्दै व्यस्त हुने भएकाले उनीहरुले दशमीको भोलिपल्ट टीका लगाउने मान्यता रहेको स्थानीयको कथन छ । टीकाका दिनहरु पनि मान्छेहरुलाई विभिन्न सामान चाहिने हुँदा उनीहरुलाई दुःख नहोस भनेर आफ्ना पूर्वजहरुले टीका एकदिन पछि मनाउन सुरु गरेको बताइन्छ ।
।