हुम्ला । बर्षको एक पटक आउने महान चाड दशैभन्दा कृषकलाई पाकेको बाली भित्र्याउने चटारो बढी देखिएको छ । कातिके बाली पाक्ने र थन्क्याउने समय पनि दशैकै बेला पर्ने भएको कारण स्थानीयमा चाडभन्दा बाली थन्क्याउने चटारो भएको हो ।
हिमाली जिल्ला हुम्लामा असोज पहिलो हप्ताबाट सुरु हुने पाकेको बाली थन्क्याउने कार्य कातिक पहिलो हप्तासम्म जारी रहन्छ । यही समयमा दशै पनि पर्ने भएकाले स्थानीयलाई चाडका साथै कामको चटारो सुरु भएको किसान डबले रोकायाले बताए ।
कतिलाई त चाडको पनि प्रबाह नहुने बताउँदै उनले पाकेको बाली पशुबस्तुले नोक्सान गर्ने भएकाले भित्र्याउने चटारो भएको बताए । निकै मिहिनेत गरेको बाली नोक्सान हुनबाट बचाउन पनि दशैजस्तो चाडमा पनि कामलाई किसानले महत्व दिनु बाध्यता भएको हो ।
केही रमाईलो गरी मनाउने शोच बनाएका किसानलाई पनि छाडा पशुबस्तुको कारण पनि कामलाई महत्व दिनै पर्ने बाध्यता रहेको उनले सुनाए । यति नगरे भित्र्याउने बेला बाली खेरजाने चिन्ताकै कारण दशै टाकटुक गरेर मनाउने र काममा ध्यान दिनुपर्ने अबस्था रहेको अर्का किसान दिफकली रावलले बताइन् ।
उनले घरमा बली दिएको खसीको मासुसमेत राम्रोसँग खाना नपाइने यो चाड अन्य कुनै महिनामा भए राम्रो हुने बताइन् । दशैं पनि असोज कातिक महिनामा पर्ने र कातिके बाली पाकेर थन्क्याउने चटारो पनि यहीबेला हुने भएकाले किसानलाई चाडभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता रहेको बताइन् ।
कोदो टिप्दै गरेकी खार्पुनाथ गाउँपालिका–४ छिप्राकी जुनेली हमालले यति नगरे के खाने भन्ने प्रश्न तेस्र्याउँदै कामलाई प्राथमिकता दिनुपर्ने बाध्यता आइलागेको बताइन् । हुम्लामा उत्पादन हुने अधिकांश बाली यही समयमा पाक्ने गर्छ । जसमा कोदो, फापर, चिनो, मिठे फापर, कागुनो लगायतका बाली, आलु, सिमी मास, भटमास, चोतो, कोइरो लगायत तरकारी बाली थन्क्याउनु पर्ने हुन्छ ।
।