दैलेख । दैलेख ठाटीकाँध गाउँपालिका–२ कि धना विक अहिले २३ वर्षको भइन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे गरेकी धनाले १७ वर्षको उमेरमा पहिलो सन्तान र १९ वर्षको उमेरमा दोस्रो सन्तान जन्माइन् ।
बालविवाहका कारण दुईवटा सन्तान पालनपोषणमा समस्या आएपछि उनी र उनका श्रीमान रोजगारीको सिलसिलामा भारत पुगे । रोजगार खोज्दै भारत पुगेका दम्पती सुखदुःख गरी साँझबिहानको छाक टारिरहेका थिए । तर, एक्कासि दुर्घटनामा परी श्रीमान गुमाउनुपर्यो ।
त्यसपछि धनाका दुःखमाथि दुःख थपिए । ‘सानैमा बालविवाह गरेँ । उबेला बालविवाह भनेको के हो भन्ने थाहै थिएन,’ धनाले भनिन्, ‘श्रीमानको मृत्युपछि ऋण काढेर नेपाल फर्किएँ । अर्कैको घरमा बास छ । अहिले गाँसबास नहुँदा दुई छोरा कसरी पाल्ने भन्ने पिरलो छ ।’
सानै उमेरमा विवाह गरेपछि १७ वर्षमै पहिलो सन्तान जन्माएकी उनलाई त्यसपछि घर र बच्चाको जिम्मेवारीले च्याप्यो । कसैले पनि बालविवाह गर्नुहुँदैन, सानैमा विवाह गरे पढ्न पाइँदैन नभन्दा अहिले दुःखका पहाडले थिचिनुपरेको वेदना धना सुनाउँछिन ।
‘बिहे गर्ने मन थिएन,’ उनले भनिन, ‘घरमा आमाबुबाको जबर्जस्तीले बिहे गर्नुपर्यो । अहिले यसरी दुःख पाइन्छ भन्ने थाहा पाएको भए बिहे गर्ने थिइनँ ।’ धनाजस्तै सोही ठाउँकी परु विकले पनि १५ वर्षको कलिलै उमेरमा भागी विवाह गरिन् ।
‘उबेला कक्षा ६ पढ्दै थिएँ । पढ्दापढ्दै मन चञ्चल भएर के–के न, होला भनेर भागी बिहे गरेँ,’ उनले भनिन्, ‘घरमा आमाबुबाले भनेको मानिनँ । पोइली घर कस्तो होला भनेर भागि आएँ । अहिले समस्यै समस्या छन् ।’
धना र परु विक एक प्रतिनिधि पात्रमात्र हुन् । कर्णालीका सबैजसो जिल्लामा उमेर नपुगी विवाह गर्ने चलन व्याप्त छ । कर्णाली प्रदेशमा २० वर्ष नपुग्दै विवाह गर्ने बालबालिकाको संख्या उच्च छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा महाशाखाले केही समय पहिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कर्णालीमा ५२ प्रतिशत बालविवाह हुने गरेका छन । परिवारको सहमतिमा मागीभन्दा भागी बिहे गर्नेको संख्या अत्यधिक छ ।
९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्छन्
बालविवाह गर्नेहरूमध्ये ९८ प्रतिशत बालबालिका आफ्नै इच्छाले भागेर बिहे गर्ने गरेको पाइन्छ । तथ्याङ्क हेर्दा बहुसंख्यक बालविवाह बालबालिकाकै चाहनाअनुसार भएका छन् । परिवारको अवरोधकाबीच भागेर विवाह गर्नेको संख्या ठूलो छ ।
बालविवाह उच्च हुनुमा चेतनाको कमि, गरिबी, सामाजिक एवं सांस्कृतिक मान्यता र लैङ्गिक विभेदजस्ता कारणहरू रहेको बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले जनाएका छन् । बालविवाह न्युनीकरणमा वर्षौंदेखि सरकारी तथा गैरसरकारी संस्थाहरू क्रियाशील छन् ।
तर, यसको दर घटेको छैन । न्यूनीकरण हुनुको साटो झन् बढिरहेको तथ्याङ्कले देखाउँछ । बालविवाह रोक्न अभियान चलाइरहेकै ठाउँको अवस्था नसुध्रिएको स्वयं अभियानकर्ताहरूले बताएका छन् ।
धेरै बालविवाह हुनेमध्येको जिल्ला सुर्खेत
प्रदेशमै धेरै बालविवाह हुनेमध्येको जिल्ला सुर्खेत पर्छ । यहाँ बालविवाहको अवस्था अहिले पनि भयावह छ । महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाले सञ्चालन गरेको बाल हेल्प लाइनमा गत आर्थिक वर्ष २९ वटा घटना दर्ता भएका थिए । आवाजमा मात्रै महिनामा चार/पाँचवटा बालविवाहका घटना आउने गरेको जनाइएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा गत आर्थिक वर्षमा सात वटा बालविवाहका उजुरी परेका थिए । उमेर नपुगी बिहे गर्न कानुनले समेत प्रतिबन्ध गरेकाले सबैजसो बालविवाहका घटना सार्वजनिक हुँदैनन । प्रहरी र संघ–संस्थासम्म न्यून संख्यामा मात्र उजुरी पर्ने गरेका हुन् ।
दैलेखमा वैशाखयता १७ वटा घटना दर्ता
दैलेखमा गत वैशाखयता १७ वटा बालविवाहका घटना दर्ता भएको बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठले बताइन् । उनका अनुसार सामाजिक सेवा केन्द्र (सोकेक)ले सञ्चालन गरेको टोल फ्रि नम्बर, बाल क्लव, महिला समूह र किशोरीहरूमार्फत बालविवाहका घटना जानकारीमा आउने गरेका छन् ।
६ महिनाको अवधिमा भएका १७ वटा बालविवाहमध्ये १५ बालिका र दुई जना बालक छन् । उनीहरूले आफ्नो उमेर नगुग्दै बिहे गरेका हुन् । सानैमा बिहे गर्नेमा बालकभन्दा बालिकाहरू धेरै रहेको बाल हेल्पलाइन संयोजक श्रेष्ठ बताउँछिन् । उमेर नहुँदै विवाह गर्ने अधिकांश जोडिलाई दुुवैका अभिभावकको रोहबरमा छलफल गरी अभिभावककै जिम्मा लगाउने गरिएको छ ।
कालिकोटमा पनि बालविवाह अत्यधिक छ । त्यहाँस्थित बालअधिकार अनुुगमन अधिकृत प्रभा विकले बालविवाह न्यूनीकरणमा थुप्रै चुनौतीहरू रहेको बताइन् । उनका अनुसार अभिभावकै राजीखुसीमा समेत यहाँ धेरै बालविवाह हुन्छ । अभिभावकलाई बालविवाहको असरको बारेमा थाहा हुँदाहुँदै पनि यस्ता घटनामा कमि आउन नसकेको उनी बताउँछिन् ।
कर्णालीका अन्य जिल्लामा पनि बालखैमा बिहे गर्ने चलन अधिक छ । सल्यान, जुम्ला, मुगु, जाजरकोट र रूकुम–पश्चिममा बालविवाहका धेरै घटना हुने गरेका हुन् । गएको वर्ष सल्यानमा तीन र जुम्लामा दुईवटा उजुरी प्रहरीमा दर्ता भएका थिए ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा सल्यानमा पाँच, सुर्खेतमा एक, दैलेखमा एक र रूकुम–पश्चिममा दुईवटा उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष २०७७/०७८ मा सुर्खेतमा सात, दैलेखमा ६, सल्यानमा चार र जुम्लामा दुईवटा बालविवाहसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।
बालबालिकाका क्षेत्रमा कार्यरत संस्थाहरूले कोरोना महामारीपछि बालविवाह झन बढेको बताएका छन् । महामारीले रोजगारी गुमेपछि परिवारहरूमा गरिबी बढेको र त्यसले बालविवाह झन बढाएको उनीहरूको तर्क छ ।
घरपरिवारबाटै बालविवाह गर्न उक्साइन्छ
बालबालिका किशोरावस्थामा प्रवेश गरिसकेपछि यौन चाहना तीव्र वृद्धि हुने, उपयुक्त ढंगले यौनशिक्षाबारेका सकारात्मक अनि र नकारात्मक पक्षमा जानकारी नदिइँदा लहलहमै बालविवाह गर्ने गरेको बाल अधिकारकर्मी सज्जना सुनार बताउँछिन् ।
‘अर्को ग्रामीण भेगमा घरपरिवारबाटै अभिभावकले बालविवाह गर्न उक्साएका हुन्छन,’ उनले भनिन्, ‘कुनै काम बिगार्दा अभिभावकले नै बिहे गर्ने उमेरमा काम बिगार्ने भन्छन् । अनि, बालबालिका उमेर पो भइसकेछ भनेर बिहे गर्छन् ।’
कम उमेरमा विवाह गर्नु कानुनविपरीत मात्र होइन स्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण मानिन्छ । बालविवाहले सक्षम र स्वाभिमानी बन्नमा समेत बाधा पुर्याउने जानकारहरू बताउँछन् । बालविवाह निरूत्साहित गर्न सरकारी निकायले नै रणनीतिक योजना बनाएर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने अभियान्ताहरूले जनाएका छन् ।
सरकारी तथा गैरसरकारी क्षेत्रबाट बालविवाह रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयास भएका पनि छन् । तर, कानुनी रूपमै वर्जित भए पनि बालविवाहका घटनामा भने कमि आएको छैन ।
।