काठमाडौं । यस वर्ष नेपाल राष्ट्र बैंकले दशैंको अवसर पारेर करिब ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । हरेक वर्ष सर्वसाधारणहरुका लागि केन्द्रीय बैंकले नयाँ नोट उपलब्ध गराउँदै आएको छ । दशैं नजिकिएसँगै नेपालीहरुको घर–परिवारमा नयाँ नोटको खोजी सुरु हुन्छ ।
दशैंमा टीका लगाएर नयाँ नोटको दक्षिणा दिने चलन निकै पुरानो भइसक्यो । यही प्रचलनलाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निस्काशन गर्छ । मूल्यका हिसाबले पुरानो र नयाँ नोट एउटै हो । तर, पुरानो नोट आदानप्रदान गर्दा दशैंको आभास नै आउँदैन । त्यसैले नयाँ नोट यतिबेला ‘चिज’ बन्छ । तर, नयाँ नोटलाई राम्ररी हिफाजत नगर्दा पुरानो देखिन समय पनि लाग्दैन ।
दशैंमा पुजामा प्रयोग गरिने, पानीमा चोबलिने, अविर लगाउने जस्ता कार्यले नोटको आयु कम हुन्छ । नोट छिटो बिग्रिए छिटो–छिटो छपाउनु पर्ने हुन्छ र त्यसका लागि राष्ट्र बैंकले ठूलो धनराशी खर्च गर्नु पर्छ । त्यसैले नयाँ नोटको हिफाजतका लागि राष्ट्र बैंकले बारम्बार आग्रह गर्ने गरेको छ । आमरुपमा ठूला नोटको तुलनामा साना नोटलाई बेवास्ता गरिन्छ । त्यसैले साना नोट चाँडै च्यातिने गरेको राष्ट्र बैंकको विगतको तथ्यांकहरुले देखाउँछन् ।
हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु तुलनात्मकरुपमा बढी हुने गरेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको एक सर्वेक्षणले देखाएअनुसार ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्छन् । जबकि नोटको गुणस्तरमा खासै फरक हुँदेन । हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक बताउछ ।
यसपाली पनि राष्ट्र बैंकले सर्वसाधारणलाई दशैँमा वितरण गरेका नयाँ नोट जतन गरेर चलाउन आग्रह गरेको छ । वर्षेनी नयाँ नोट निष्काशन गरेपनि छिट्टै पुराना भइहाल्ने समस्या दर्शाउँदै राष्ट्र बैंकले नयाँ नोट जतन गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले नयाँ नोटलाई दशैँ तिहारमा रङ र पानीबाट बचाउनसमेत आग्रह गरेको छ ।
कसरी गर्ने जतन ?
दशैंका बेला नयाँ नोटको कसरी सुरक्षा गर्ने भनेर राष्ट्र बैंकले हरेक वर्ष सर्वसाधारणहरुलाई सचेत गराउँदै आएको छ । नयाँ नोट दक्षिणका रुपमा दिने तर केही सावधानीहरु अपनाए नोटको आयु नघट्ने राष्ट्र बैंकले बताएको छ । के–के गरेर सुरक्षित राख्न सकिन्छ :
१. अविर नलगाउने ।
२. नोटमा केरमेट नगर्ने ।
३. पानीमा नभिजाउने ।
४. नोटलाई खुम्चन नदिने ।
५. दक्षिणा दिदा खाममा राखेर दिने ।
६. नोटलाई अबिर, अक्षता, माटो, धमिरा, मुसा, आगो, पानी इत्यादिबाट जोगाउने ।
७. नोटलाई कच्याककुच्चुक नपार्ने, पोको नपार्ने र जमीनमा गाड्ने काम नगर्ने ।
८. नोटको हिफाजत गर्ने कुरा आफूले पनि बुझ्ने र अरुलाई बुझाउने ।
९. पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरुले सकेसम्म नोट नछुने ।
१०. आफूलाई आवश्यक पर्ने भन्दा बढी नोट बैंकमा जम्मा गर्ने बानी बसाल्ने ।
११. बैंकमा चेक तथा एटिएम कार्ड प्रयोग गरी नगद कारोबार कम गर्ने बानी बसालौं ।
जेल सजाय समेत हुनसक्ने
नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय–समयमा अनुरोध गर्दै आएको छ । अहिले त कानूनमै पनि नोटमा केरमेट गरे कडा कानूनको व्यवस्थासमेत छ । एक वर्ष अघिदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी–नोक्सानी पुर्याएमा ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोधसमेत गरेको छ ।
।