काठमाडौं । आज विश्व हात धुने दिवस । हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ । यस वर्ष नेपालमा दशैं परेकाले दिवशको अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन । सरुवा रोगको संक्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ ।
नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाएको छ । त्यसैले हात धुने बानीको विकास गर्न हरेक वर्ष अक्टोबर १५ मा विश्व हात धुने दिवस मनाउने गरिन्छ । हातको फोहोरका कारण विभिन्न सरुवा रोग लाग्ने र त्यसबाट मानिसको मृत्यु हुने भएकाले समय समयमा साबुन पानीले मिचिमिचि हात धुन चिकित्सकहरुले सुझाव दिएका छन् ।
कोरोना महामारीका कारण विश्व नै आक्रान्त बनेका बेला कोरोना भाइरस नियन्त्रणका लागि पनि नियमित साबुन पानीले हात धुनुपर्ने र दिवस मनाउँदा आमनागरिक अझै सचेत हुने चिकित्सकहरुले बताएका छन् । सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा विश्व हात धुने दिवस मनाइन्छ । यस वर्षको विश्व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ, हामी सबै एक साथ अगाडि बढौँ’ भन्ने रहेको छ । आम जनमानसमा व्यक्तिगत सरसफाइ तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन् । उनले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आह्वानसमेत गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘आफ्ना हात सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्वपूर्ण कार्य हो, हात सफा नभएका कारणले नै अनेक संक्रमण भई विश्वभर कैयौँ मानिसले मृत्युवरण गर्नुपरेको तथ्यांक पाइन्छ । राम्ररी मिचीमिची साबुनपानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखालालगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ ।’
राष्ट्रपति भण्डारीले सो सन्देशमा हाल विश्वव्यापी महामारीको रूपमा देखापरेको कोरोना भाइरससमेतको संक्रमणबाट बच्ने प्राथमिक उपायमध्ये हातको सरसफाइ पनि एक भएको उल्लेख गरेकी छन् । ‘वर्तमान अवस्थामा हातको माध्यमबाट कोरोनाभाइरसको संक्रमण मुख र नाकसम्म जान नपाओस् भनेर बारम्बार हात धुनुपर्ने हुन्छ । कोभिड–१९ को संक्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी बनाउन सरकार, निजी क्षेत्र र विभिन्न संघ–संस्थासँगको समन्वयात्मक कार्यलाई निरन्तरता दिनुपर्दछ,’ सन्देशमा भनिएको छ ।
।