सूचनाको शक्ति - The Power Of Information

        

च्याङ्ग्रा नआउँदा हुम्लीको दसैं महङ्गो

सिमकोट । कोरोना कहरले हिल्सा नाका बन्द हुँदा हुम्लाका स्थानीयको दसैँ महङ्गो भएको छ । नाका बन्द हुँदा चीनको ताक्लाकोट र चुवाँखोलाबाट च्याङ्ग्रा आयात भएनन् । चीनबाट ल्याइने च्याङ्ग्रा स्थानीय खसीभन्दा सस्तोमा पाइन्थ्यो ।

हुम्लावासीले दसैँमा च्याङ्ग्रा वा खसीको बलि दिएर पूजा गर्छन् । सस्तोमा चीनबाट च्याङ्ग्रा आयात नहुँदा महंगो स्थानीय खसी किन्न हुम्लावासी बाध्य भएका हुन् । जसले गर्दा दसैँ महंङ्गो भएको स्थानीय बताउँछन् ।

सिमकोट गाउँपालिका–२ को ठेहे गाउँका रामबहादुर भण्डारीले दसैँका लागि ३० हजार रुपैयाँमा स्थानीय खसी किन्नुपरेको बताए । अरु बेला १२ हजार रुपैयाँमा च्याङ्ग्रा पाइन्थ्यो । हुम्लामा खसीको मूल्य हालसम्मकै उच्च रह्यो ।

यसअघि व्यापारीले वर्सेनि चीनको ताक्लाकोटबाट च्याङ्ग्रा ल्याउने गरेका थिए । यस वर्ष कोरोना भाइरस संक्रमणको कारण हिल्सा नाका बन्द हुँदा व्यापारीले च्याङ्ग्रा ल्याउन पाएनन् । त्यसैले यस वर्ष हुम्लावासीको दसैँ महंङ्गो हुन गएको स्थानीय भण्डारी बताउँछन् ।

हुम्लामा च्याङ्ग्रा भित्रिएको भए तौल हेरी ७ हजारदेखि २० हजार रुपैयाँ मूल्यमा खरिद गर्न पाइन्थ्यो । दसैँमा विरलै हुम्लावासीले खसीको बलि चढाउँछन् तर यसवर्ष अधिकांशले दसैँको लागि खसी किन्नैपर्ने बाध्यता आइपरेको स्थानीयहरु बताउँछन् ।

यहाँ एउटा खसीको मूल्य कम्तीमा २२ हजार रहेको छ । विगत दश वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका व्यापारी छिरिङ लामाले नाका बन्द भएकाले च्याङ्ग्रा नआउँदा व्यापारै छोड्नुपरेको दुःखेसो पोखे ।

उनले च्याङ्ग्रा भित्रिएको भए सस्तोमा दसैँ मनाउन पाउने हुम्लावासीले महङ्गोमा मनाउनु परेको बताए । यतिबेला बथानका बथान च्याङ्ग्रा हुनुपर्नेमा त्यो नभएर दक्षिणी हुम्ला, बझाङ र सैपालबाट खसी बिक्रीका लागि ल्याइएका छन् ।

ती खसीको मूल्य अकासिएको बताउँदै स्थानीय नन्दबहादुर बुढाले बाध्यताले व्यापारीले भनेको मूल्यमा खसी किन्नुपरेको बताए । उनले वर्षमा एकपटक आउने दसैँमा खसी नकाटए भएन भनेर २८ हजारमा खसी किनेको सुनाए । खसी व्यापारी गोरसिंह बोहराले खरिद गर्ने स्थानमै मूल्य उच्च तिर्नुपरेको कारण महंगो भएको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १७:४०