सूचनाको शक्ति - The Power Of Information

        

बनगाड कुपिण्डे नगरपालिका शिक्षकले पाएनन् दसैंमा तलब

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षकहरुले दशैँको मुखमा नै तलव पाउन सकेका छैनन् । अन्तिममा निकासा गरेको शिक्षकको तलव बैंक बन्द हुन मात्र १ दिन रहेको थियोे । नगरले पठाएको निकासा पत्रमा प्राविधिक त्रुटि देखाउँदै बैंकले विद्यालयको खातामा रकम ट्रान्सफर गर्न सकेन । जसका कारण शिक्षक मारमा परेका छन् ।

कार्यालय नबस्ने कर्मचारीका कारण र समयमै नगरसभा बस्न नसक्नुको मुख्य कारण शिक्षकहरुले दशैमा तलव खान नपाएका हुन् । निजामती कर्मचारीहरुको खातामै तलब गयो, शिक्षकको तलब भने विद्यालय खातामै जान सकेन । नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानका सदस्य शिखरकुमार यरीले यस नगरले शिक्षकमाथि बिभेद गरेको बताए ।

चाडपर्वको मुखमै तलब नपाएपछि चाडपर्व मनाउन समस्या भएको उनको भनाई छ । निजामतीलाई तलव खुलाउने सक्ने तर शिक्षकलाइ यो महामारीको समयमा समेत दशैँमा स्थानीय सरकार निरिह भएको शिक्षकहरु बताउँछन् । दिनभर बैंकमा कतिवेला तलव आउलाँ भनेर पर्खिएर वसेका शिक्षक लोकवहादुर विसीले तलव नआएपछि यस बर्षको दशैँ कसरी मनाउने भनेर समस्या भएको बताए ।

‘एक सुक्का पकेटमा रकम छैन, कसरी दशै खर्च टार्ने ?’ उनले दुखेसो व्यक्त गर्दै भने । गत बर्षजस्तै यस बर्ष पनि दशैँमा शिक्षकले तलव खान नपाएकोमा राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्तीले रोष प्रकट गरे । उनले नगर प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कडा विरोध गर्दै शिक्षकहरुमाथि नगरपालिकाले विभेद गरेको पनि बताए ।

नगरका प्रमुख प्रसाशकिय अधिकृत मनोज रेग्मी कार्यालयमा नबस्ने र जनप्रतिनिधिहरुको बेवास्ताका कारण यस नगरका शिक्षकहरु मारमा परेका छन् । प्रमुख प्रसाशकिय अधिकृत र नगरप्रमुख तथा उपप्रमुख नगर कार्यालयमा नआएको लामो समय भैसकेपछि नगरका शिक्षकसँगै अन्य सेवाग्राहीहरु मारमा परेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार ०९:५७