सूचनाको शक्ति - The Power Of Information

        

पहिलोपटक साफ फाइनल पुग्ने दाउमा नेपाल, बंगलादेशसँग भिड्दै

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल दिउँसो ४ः ४५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन ।

तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो
नेपाली टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले बंगलादेशविरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

‘टिमको तयारीको बारेमा भन्नुपर्दा हामीले सम्पूर्ण तयारी गरिसकेका छौँ र बंगलादेशसँग खेल्न तयार छौँ,’ प्रशिक्षक श्रेष्ठले भनेका छन्, ‘हाम्रो टोलीले उच्च मनोबलका साथ खेल्नेछ र फाईनल प्रवेशका लागि राम्रो नतिजा निकाल्नेछौ ।’

राउण्ड रोबिन लिगको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । यस्तोमा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता रहेको छ ।

नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३(२ ले हराएको थियो । तर, नेपाल आइतबार भारतसँग १–० ले पराजित भएको थियो ।

बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन । तर, नेपाल बंगलादेशलाई हराउने योजनासहित मैदान उत्रनेछ ।

बंगलादेश पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । बंगलादेश ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस समूहमा माल्दिभ्स ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । नेपालसँग पराजित माल्दिभ्स हेड टु हेडमा पछि रहेको हो । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

बुधबार नै भारतले माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ । फाइनलका लागि माल्दिभ्सलाई बराबरीले पुग्नेछ । भारतलाई भने जितको बिकल्प छैन ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट श्रीलंका भने बाहिरिसकेको छ । श्रीलंकाले ४ खेलमा १ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ०७:५२