सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

बाघको आक्रमणपछि बर्दियामा एक जना बेपत्ता

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । बर्दियाको गेरुवा गाउँपालिका ४ शान्तिपुर ढिकुनियाका ३५ बर्षिया जनक थारुलाई बाघले आक्रमण गरेर बेपत्ता पारेको हो ।

गाईवस्तु चराउन गएका बेलामा जंगल छेउबाट बाघले आक्रमण गरी जंगलभित्र लगेको प्रत्यक्षदर्शी निर्मल थारुले जानकारी दिए । घटनाको जानकारी पाएपछि बर्दिया राष्ट्रिय निकुञ्ज ओखरीया पोष्टबाट निकुञ्ज र नेपाली सेनाको टोली घटना स्थलतर्फ पुगेको छ ।

बेपत्ता थारुको खोजीमा निकुञ्जबाट चारवटा हात्ती सहितको टोली परिचारन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । रात परेको हुनाले खोजी गर्न समस्या भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापाले बताए ।

खोजी कार्य जारी भए पनि थारुको अवस्था भने पत्ता नलागेको सहायक संरक्षण अधिकृत थापाले बताए । केही समययता बाँके र बर्दिया जिल्लामा बाघ तथा जंगली हात्तीको बिगबिगी बढिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७८, मंगलवार ०७:१७