बाँके । सन्तोषजनक रुपमा काम गर्न नसकेपछि बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई १७८ दिनमै सरुवा गरिएको छ । गृह मन्त्रालयको बार्षिक कार्य सम्पादन मुल्याङ्कनमा बाँके जिल्ला प्रशासन कार्यालय असफल भएपछि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सरुवा गरिएको हो ।
गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच गरिएको बार्षिक करार सम्झौता अनुसार बाँके अन्तिम स्थानमा परेपछि प्रजिअ गेलाललाई प्रधानमन्त्री कार्यालयमा तानिएको स्रोतले जनाएको छ । आव २०७७/०७८ मा गृह सचिव र प्रमुख जिल्ला अधिकारीबीच गरिएको बार्षिक करार सम्झौता अनुसार कार्य सम्पादन मुल्याङ्कन गरिएको थियो ।
कार्य सम्पादन मुल्याङ्कनमा लुम्बिनी प्रदेशको बाँके जिल्ला प्रशासन कार्यालय न्यून भएर पाँचौ स्थानमा परेको छ । मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कन महाशाखाबाट गरिएको मुल्याङ्कनमा बाँके जिल्ला अन्तिम सूचीमा परेपछि प्रजिअ गेलाललाई प्रधानमन्त्री कार्यालयमा तानेर उपसचिव सुर्यबहादुर खत्रीलाई बाँके पठाएको छ ।
कार्य सम्पादन मुल्याङ्कन सन्तोषजनक नहुँदा गृह मन्त्रालयले असोज २२ गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रजिअ गेलालको सरुवा गरेको स्रोतले जनाएको छ । बैशाख २ गतेबाट जिल्लाको नेतृत्व गरेका सहसचिव गेलालले प्रभावकारीरुपमा काम गर्न नसकेपछि कार्य सम्पादन मुल्याङ्कनमा बाँके जिल्ला पछि परेको मन्त्रालयले जनाएको छ ।
सिडियो भएर बाँके आएका गेलालले गृहकै निर्देशनको बेवास्ता गर्ने गरेको, जिल्लामा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण गर्न नसकेको स्रोतले जनाएको छ । गृह प्रशासन सुधार कार्य योजना, २०७४ मा विभागीय प्रमुख र कार्यालय प्रमुखसँग कार्य विवरण र सूचक तयार गरी कार्य सम्पादन सम्झौता गराई काममा खटाउन सक्ने व्यवस्था छ ।
गृहले मुल्याङ्कन गरेका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन समन्वय तथा सदाचार र आर्थिक अनुशासन गरी ६ वटा बिषयगत क्षेत्रमा समग्र मापनका आधारमा प्रजिअ गेलालले सन्तोषजनक काम गर्न नसकेको पनि स्रोतले जनाएको छ ।
।