सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगरका १२ स्थानमा ‘हाइ–मास्ट’ लाइट जडान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रमा ‘हाइ–मास्ट’ लाइट सञ्चालनमा ल्याइएको छ । १ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको हो ।

नगर उज्यालो कार्यक्रममार्फत उज्यालो र सुरक्षा दुवैलाई मध्यनजर गरी उक्त लाइटहरु जडान गरिएको वीरेन्द्रगर नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

नगरको सुब्बा कुनादेखि बांगेसिमलसम्मको मुख्य राजमार्गलाई प्राथमिकतामा राखेर लाइट जडान गरिएको छ । वीरेन्द्रनगर बजार क्षेत्रका वीरेन्द्र चोक, गणेश चोक, मंगलगढी चोक, एरिचोक, घण्टाघर चोक, कालुङ्गचोक, देउती बज्यै चोक, धुलियाविट र बसपार्क लगायतका ठाउँहरूमा हाइ–मास्ट लाइट जडान गरिएको हो ।

उपप्रमुख ढकालका अनुसार बिजुलीबाट चल्ने यी बत्तीहरू बाल्दा लाग्ने विद्युत महसुल र पोलको भाडा नगरपालिका स्वयंले नै बेहोर्ने छ । विद्युत र पोल भाडा गरी एउटा पोलको मासिक १० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

१२ वटा बत्तीको शुल्क मासिक १ लाख २० हजार रुपैयाँ हुनेछ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार १०:०७