सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ ।

उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।

घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौं आएका टोली माइतीघरमा धर्नामा बसेको थियो । सोही टोलीको सदस्य रुवी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो ।

उनलाई पक्राउ गर्नु गैरकानुनी भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । प्रहरीले उनलाई नेपालगञ्ज लगिसकेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार १६:३६