सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

के छ प्रधानमन्त्रीलाई बुझाएको उद्योग मन्त्री हमालको राजीनामा पत्रमा ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्रीको आग्रहमा राजीनामा दिएको दावी गरेका छन् । प्रधानमन्त्री देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेकामा सो अनुरोधलाई स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएको सचिवालयको भनाइ छ ।

प्रधानन्यायाधीशको आफन्त उनको नियुक्तिलाई लिएर चौतर्फी आलोचना हुँदै आएको थियो । यता हमालले भने विभिन्न सञ्चार माध्यममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि आफूले पदबाट राजीनामा गरेको बताएका छन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि काँग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले प्रधानमन्त्रीलाई बुझाइएको राजीनामा पत्रमा भनेका छन् ।

हमालले बुझाएको राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चार माध्यमहरुमा सम्प्रेषित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार सम्प्रेषित गरेको र यस्ता समाचारले आफ्नो वर्षौंसम्म लोकतन्त्र, विधिको शासन तथा राज्यका निकायहरूबीच शक्ति पृथकीकरणको सिद्धान्तको लागि लडेको लडाइँको समेत अवमूल्यन भएको बोध भएको छ । तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बीच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु ।’ हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरिसकेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ११:३५