सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

उद्योगमन्त्री बनेको तीन दिन नबित्दै गजेन्द्र हमालको राजिनामा

बाँके । मन्त्री नियुक्त भएको तीन दिन नबित्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालद्वारा पदबाट राजिनामा दिने घोषणा गरेका छन् । निष्ठाको राजनीतिक गरेकाले मन्त्री नहुँदैमा केही फरक नपर्ने बताउँदै मन्त्री हमालले पदबाट राजिनामा दिने बताएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने बताएका छन् ।

‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें,’ हमालले भने, ‘आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु । ४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेउ भनेर दबाब पनि आएको छ, तर, राजीनामा दिन्छु ।’

हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए । ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचें, किन विवादमा परुँ म । किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु,’ उनले भने ।

उनले कांग्रेस र आफ्नो बदनाम गरिएको भन्दै राजीनामा दिन लागेको पनि स्पष्ट पारेका छन् । ‘म राजीनामा दिने तयारीमा छु, आजै दिन्छु, कांग्रेस र मेरो बदनामी भयो,’ मन्त्री हमालले भने, ‘राजीनामा दिन्छु स्वीकृत गर्ने नगर्ने प्रधानमन्त्रीको कुरा हो ।’

प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामा गण्डकी प्रदेश सरकारले आयोजना गरेको ‘गण्डकी प्रदेश साक्षर घोषणा’ कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम तय भएकाले कति बेला राजीनामा दिने भन्ने निश्चित भएको बालुवाटार स्रोतले जनाएको छ ।

हमालले हिजो मात्रै नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेटेर मन्त्री पदबाट राजीनामा दिने जानकारी गराएका थिए । गैरसांसद हमाल प्रधानन्यायाधीशको सिफारिसमा मन्त्री बनेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप थेग्न नसकेर राजिनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०९:१३