सूचनाको शक्ति - The Power Of Information

        

अपराध

बहुबिवाह मुद्दामा काठमाडौंमा पक्राउ परेकी रुबी खान बाँके प्रहरीको हिरासतमा

बाँके । बहुबिवाह मुद्दामा काठमाडौंमा पक्राउ परेकी रुबी खानलाई शनिबार बेलुकी नेपालगन्ज ल्याइएको छ । गत साउन ५ गते मृत्यु भएकी ननकुन्नी धोबी र मङ्सिरदेखि हराइरहेकी निर्मला कुर्मीका लागि न्याय माग्न भन्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौँ पुगेकी खानलाई प्रहरीले बहुबिवाह मुद्दामा पक्राउ गरेको हो ।

बहुबिवाह मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेपछि शुक्रबार साँझ काठमाडौंको माइतीघर मण्डलामा खाना खाइरहेका बेला पक्राउ परेकी खानलाई शनिबार बेलुकी बाँके ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेको काठमाडौंबाट शनिबार बेलुका बुद्ध एयरको जहाजमार्फत बाँके ल्याइएको जानकारी दिए । प्रवक्ता न्यौपानेकै कमाण्डमा खटेको प्रहरी टोलीले बहुबिवाह मुद्दामा पक्राउ परेकी रुवीलाई नेपालगन्ज एयरपोर्टबाट सिधैँ जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्याएको थियो ।

‘खान बहुविवाह मुद्दामा पक्राउ परेकी खानलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेका छौं,’ प्रवक्ता न्यौपानेले भने । मोहम्मद शेर बागवानकी कान्छी श्रीमती भनिएकी रुबी खानका नाममा बाँके प्रहरीले वारेन्ट जारी गरेको थियो । रुबीलाई विवाह गर्नुअघि नै बागवानकी घरमा जेठी श्रीमती रहेकी छन् ।

रुवीले आफ्नो विवाह नेपालगन्जका मोहम्मद शेर बागवानसँग भएको र सम्बन्धविच्छेद गरिपाउँ भनि जिल्ला अदालत बाँकेमा निवेदन दर्ता गराएपछि बाँके जिल्ला अदालतले श्रीमती भनिएकी खानलाई बहुबिवाहमा पक्राउ गरि अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई आदेश दिएको थियो ।

अदालतले खानलाई उपस्थित गराउन बाँके प्रहरीलाई पत्र पठाएसँगै उनलाई काठमाडौंबाट पक्राउ गरेर ल्याइएको हो । गत साउन ५ गते मृत्यु भएकी ननकुन्नी धोबी र मङ्सिरदेखि हराइरहेकी निर्मला कुर्मीका लागि न्याय माग्न भन्दै खानको नेतृत्वमा १६ जना काठमाडौं पुगेका थिए । असोज १ गते बाँकेबाट पैदल हिँडेका उनीहरू २० गते काठमाडौँ पुगेका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतवार ०६:०१