सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सीमा खुलेसँगै नेपालगन्ज नाकाबाटै तस्करी

बाँके । लामो समय बन्द रहेको नेपाल भारत सीमा नाका पूर्ववत् रूपमा खुलेसँगै तस्करी ह्वात्तै बढेको छ । दशैँ–तिहारका बेला विभिन्न घरायसी सामानको माग बढ्ने भएकाले सीमा नाका खुल्ने बित्तिकै तस्करी बढेको प्रहरीले जनाएको छ ।

भारतबाट राजस्व छलेर लामो समयदेखि हुँदै आएको तस्करी रोक्न प्रहरी सक्रिय रहेकाले सिमानामा दिनदिनै प्रहरीले ठूलो मात्रामा नेपाल भित्रिन लागेका सामान नियन्त्रणमा लिँदै आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपाल–भारत सीमा नाकास्थित इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले भन्सार छली गरी ल्याइँदै गरेको पाँच लाख रुपैयाँभन्दा बढीको अवैध सामग्री शुक्रबार बरामद गरेको छ । तस्करले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको सामग्री प्रहरीले बरामद गरेको हो ।

नेपालगन्ज–१५ जमुनाहा गाउँबाट तस्करी गरेर ल्याइएको उक्त अवैध सामग्री एकैपटक बरामद भएको हो । लत्ताकपडा, चार बोरा सुपारी, लेडिज सुट, जेन्स कपडा, किराना सामग्री, फलामे सामग्रीलगायत अन्य सामग्री बरामद भएका छन् ।

सबै सामग्री आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । नाकाबाट प्रहरीको आँखा छलेर भित्रिएका धेरै सामान नेपालगन्ज पुगेपछि पनि विभिन्न ठाउँ र तस्करका गोदामबाटै पनि नियन्त्रणमा लिने गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०८:५७