सूचनाको शक्ति - The Power Of Information

        

समाचार

न्याय माग्न काठमाडौं पुगेकी अधिकारकर्मी नै बहुबिवाह मुद्दामा पक्राउ

बाँके । नेपालगन्जदेखि न्याय माग्दै २० दिन हिँडेर काठमाडौँ पुगेकी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार बहुबिबाह मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेपछि शुक्रबार साँझ माइतीघर मण्डलामा खाना खाइरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

माइतीघर मण्डलामा धर्ना दिइरहेका बेला बहुबिबाह मुद्दामा अधिकारकर्मी रुबी खानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । नेपालगन्जकै मोहम्मद शेर बागवानसँग बिवाह भएको भन्दै खानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बागवानको घरमा भने जेठी श्रीमती रहेको र खान र बागवानबीच दोश्रो विहे भएको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार रुबी खान मोहम्मद शेर बागवानकी कान्छी श्रीमती भएकाले प्रहरीले अदालतको आदेश अनुसार रुबी खान र मोहम्मद शेर बागवानलाई पक्राउ गर्ने तयारी गरेको थियो । खानले आफ्नो विवाह बागवानसँग भएको र सम्बन्ध विच्छेद गरिपाउँ भनि जिल्ला अदालत बाँकेमा निवेदन दर्ता गरेको बुझिएको छ ।

अदालतले श्रीमती भनिएकी खानलाई पक्राउ गरि अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र पठाएसँगै उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खान बागवानकी कान्छी श्रीमती भएकाले प्रहरीले अदालतको आदेश अनुसार उनलाई पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीले खानलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी गरेको छ । गत साउन ५ गते मृत्यु भएकी ननकुन्नी धोबी र मङ्सिरदेखि हराइरहेकी निर्मला कुर्मीले न्याय माग्न भन्दै खानसहित ननकुन्नीका परिवारका सदस्य तथा राष्ट्रिय महिला अधिकार मञ्चका सदस्य गरी १६ जना पैदल हिँडेर काठमाडौं पुगेका थिए ।

असोज १ गते बाँकेबाट हिडेका उनीहरू २० गते काठमाडौँ पुगेका उनीहरुको आन्दोलनमा नागरिक अगुवाहरूले पनि साथ दिएका थिए । न्याय नपाएसम्म काठमाडौँबाट नेपालगन्ज नफर्किने अडान लिएका थिए । काठमाडौँमा रहँदा उनीहरूले राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, गृहमन्त्री र राष्ट्रपतिलाई भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०८:०९