काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गर्नुभएको छ ।
माओवादी केन्द्रले मन्त्रिपरिषद्मा सहभागी हुने व्यक्ति टुंगो लगाएपछि मुख्यमन्त्री केसीले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो ।
माओवादीले दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम थारुलाई मन्त्री बनाउन लागेको बताईएको छ । लुम्बिनी प्रदेशमा माओवादीले मुख्यमन्त्री सहित चार मन्त्रालय पाएको थियो ।
तर नेकपा एकीकृत समाजवादी सरकारमा समावेश भएपछि माओवादीसंग मन्त्रालय संख्या तीन मात्रै छ । नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती एक मात्र सांसद भएकाले उनलाई पनि मन्त्री बनाइने भएको छ ।
भागवण्डामा ४ मन्त्रालय पाएको कांग्रेसबाट दुई जना मन्त्री भैसकेका छन् भने दुई जना मन्त्रीको पनि नाम टुंगो लगाईएको छ । लुम्बिनीमा नयाँ गठबन्धनको सरकार गठन भएपछि भागवण्डा पुर्याउन मन्त्रालय विभाजित गरिएको छ ।
तर नयाँ मन्त्रालय राख्ने ठाउँ समेत नभएकाले मन्त्री थप्न भने ढिलाई भएको हो ।
।