सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सीमामा फेरि लुटिन थाले नेपाली

फाइल तस्वीर

बाँके । भारतका विभिन्न सहरबाट मजदुरी गरेर दशैँ लगायतका चाडपर्व मनाउन स्वदेश फर्किरहेका नेपाली फेरि सीमाक्षेत्रमा ठगिन र लुटिन थालेका छन् । दशैँ मनाउन भारतबाट घर फर्किरहेका नेपालीलाई सीमापारि भारतको रुपैडिया बसपार्कदेखि नै रिक्सा चालक, भारतीय र नेपाली सुरक्षाकर्मी तथा होटल र गाडीका दलालले ठग्ने र लुट्ने काम खुला रूपमै गरिरहेका छन् ।

सिमला, हरिद्वार, दिल्ली, पञ्जावका सहर, अहमदावाद तथा जयपुर लगायतबाट पैसा कमाएर दशैँ मनाउन फर्किने नेपालीलाई ठग्ने र लुट्ने काम भइरहे पनि भारतीय र नेपाली दुवै देशका सुरक्षाकर्मीमा कुनै चासो देखिँदैन । भारतस्थित हिमाञ्चल प्रदेशको सिमलाबाट काम गरेर फर्किएका बसेला सुर्खेतका राजेश विक र उनीसँगै रहेका १० जनालाई सीमापारि रुपैडियाका रिक्सा चालकले ठगेका छन् ।

विकको टोली रुपैडिया बसपार्कमा ओर्लनेबित्तिकै रिक्सा चालकले नेपालगन्ज पुर्याउने भनी प्रतिव्यक्ति ५०० रुपैयाँ लिएको विकले बताए । उनले होटेलका दलालले पनि हैरान पारेको गुनासो गरे । यस्तै, रुपैडियाबाट जमुनाहासम्म पुर्याउने भनी जनही ३०० रुपैयाँ रिक्सा चालकले असुलेको अर्का नेपाली दैलेखका दिनेश थापाले बताए ।

उनले जेनतेन गरेर स्वदेश छिरेपछि यहाँ पनि प्रहरीदेखि रिक्सा चालक र होटलमा पुर्याउने नाममा ठाउँठाउँमा ठग्ने र लुट्ने गरेको बताए । ‘भारतबाट नेपाल छिर्न पाएको छैन, हात समातेरै कसैले अटोरिक्सामा बसाउँछन्, कोही आएर मेरो होटलमा जाऊँ भन्दै तँछाडमँछाड गर्छन्,’ भारतबाट फर्केका सल्यान थारमारेका रमेश नेपालीले भने, ‘आफ्नै देशमा यस्तो भोग्दा साह्रै नरमाइलो लाग्यो ।’

जमुनाहा नाकामा प्रहरीले समेत खुलारूपमा असुली गरिरहेको र ठग्नेलाई छुट दिएको गुनासो आएपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसूदन न्यौपानेले भेष बदलेर नाकाको छड्के अनुगमन गर्दा प्रहरीले नै घुस खाइरहेको पाएपछि इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी इन्चार्ज सई पुर्ण खत्रीसहित १७ जना प्रहरीलाई जिल्ला तानेर कारबाही गरेका थिए । ठगी र रकम असुलीमा संलग्न १५ जना बिचौलियालाई पक्राउ गरेर निगरानी बढाइएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ०८:०८